back
CTIZAN AD

नागरिकता विधेकयले नैतिक संकटमा राष्ट्रपति, विकल्प के ?

वि.सं.२०७९ भदौ ९ बिहीवार

870 

shares

काठमाडौं । प्रतिनिधिसभाले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई पुनः हुबहु पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक संकटमा फसेकी छिन् । नैतिक संकटमा फसेकी राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदमबारे अहिले राजनीतिक वृत्तमा चासो र चर्चा चुलिएको छ ।

बुधबार भण्डारीले बहालवाला र अवकाश प्राप्त उच्च सैन्य अधिकृतसँग सम्भावित कदमबारे परामर्श लिएकी थिइन् । त्यसअघि उनले संविधानविद्, पत्रकार र नागरिक समाजका अगुवाहरुसँग पनि छलफल गरेकी थिइन् । भण्डारीको पछिल्लो छलफललाई लिएर राजनीतिक वृत्तमा राजीनामाको चर्चा चलेको छ ।

यद्यपि प्रतिनिधिसभाले हुबहु पारित गरेको भएपनि नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित बाँकी छ । तथापी राष्ट्रियसभाबाट पनि बहुमतको आधारमा विधेयक पारित हुने निश्चित छ ।

संविधानको धारा ११३ को उपधारा ४ अनुसार संसदले पुनर्विचार गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले दोस्रो पटक संसदमा फिर्ता पठाउन मिल्दैन । जसअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ । यदी प्रमाणीकरण नगरे राजीनामा दिनुपर्छ ।

अहिले राष्ट्रपति भण्डारीलाई यही विषयले समस्यामा तानेको छ । नियमित रुपमा उनले सुरु गरेका उच्च स्तरका छलफल यही समस्याको केन्द्रमा छन् । राष्ट्रपतिले श्रृंखलाबद्ध सुरु गरेको छलफलसँगै सत्ता गठबन्धनभित्र पनि उनले चाल्नसक्ने सम्भावित कदमबारे छलफल हुन थालेको छ । राष्ट्रपतिले राजीनामा गर्लिन् वा अन्य विकल्पमा जालिन् दलहरुभित्र चासो देखिन्छ ।

राष्ट्रपति भण्डारीले श्रृंखलाबद्ध सुरु गरेको छलफलका बीच बुधबार बसेको सत्ता गठबन्धनको बैठक पनि उनको सम्भावित कदमबारे केन्द्रीत थियो । बालुवाटार उच्च स्रोतले बताएअनुसार प्रधानमन्त्री निवासमा चलेको छलफलमा नेताहरुले राजीनामा पनि हुनसक्ने सम्भावना औंल्याएका थिए ।

यता, नेकपा एमाले उच्च स्रोतले पनि राजीनामाको सम्भावनालाई देखाएको छ । “राष्ट्रियसभाबाट पारित हुन बाँकी छ, तथापी बहुमतको बलमा पारित गराउने सम्भावना पनि रहन्छ”, एमालेका एक सचिवालय सदस्यले भनेका छन्, “त्यस्तो अवस्थामा राजीनामा नआउला भन्न सकिन्न ।”

सत्ता गठबन्धनले सामान्य पुनर्विचारसमेत नगरी प्रतिशोध पूर्णं व्यवहार गरेको कारण राजीनामा उपयुक्त हुने बुझाई एमालेभित्र छ । तथापी, भण्डारीकै व्यक्तिगत निर्णयमा पनि भर पर्ने ती नेताले बताए ।

संविधान विद् भीमार्जुन आचार्य प्रक्रियागत हिसाबले नागरिकता विधेयक राष्ट्रपतिबाट रोक्न सम्भव नभएको बताउँछन् । उनका अनुसार त्यस्तो अवस्थामा भण्डारीमाथि नैतिक प्रश्न खडा हुनेछ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार १२:३० मा प्रकाशित