जुरिच, स्विट्जरल्याण्ड । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।
स्विट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू-१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।
“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, व्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वयन हुने गरीे फुकुवा गर्ने निर्णय गरेको थियो । यसले गर्दा सन् २०२२ को अक्टोबर ११ देखि ३० सम्म हुने फिफा यू-१७ महिला विश्वकप २०२२ भारतमा आयोजना गर्न सकिने फिफाले जनाएको छ ।
एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ । “फिफा र एएफसीले स्थितिको निगरानी जारी राख्नेछन् र एआईएफएफको समयमै निर्वाचन गर्न सहकार्य गर्नेछन्,” फिफाको विज्ञप्तिमा भनिएको छ ।
फिफाले एआईएफएफको कार्यकारी समितिको अधिकार ग्रहण गर्न गठन गरिएको प्रशासकहरूको समितिको म्यान्डेट समाप्त भएको र एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेको पुष्टि गरेपछि यो निर्णय लिइएको थियो । एएनआई
वि.सं.२०७९ भदौ ११ शनिवार १४:०३ मा प्रकाशित




























