पर्वत । पर्वतको पैयूँ गाउँपालिकाका जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ । बुधबार बसेको पैयूँ गाउँपालिकाको शिक्षा समितिको बैठकले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो ।
यो नियम आगामी शैक्षिक सत्रदेखि लागु हुने गाउँपालिकाका शिक्षा समितिका संयोजक टुकलाल न्यौपानेले जानकारी दिए ।
सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन यो नियम लागु गर्ने भएका हौ पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण राज मल्लले भने यो नियम सबैले मान्नु पर्ने छ । आगामी शैक्षिक सत्र २०८० बाट लागु हुने यो नियम नमानेमा जनप्रतिनिधि र कर्मचारीको तलब भत्ता रोकिने अध्यक्ष मल्लले जानकारी दिए ।
पछिल्लो समय सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास गुम्दै गएको बेला यो नियम लागु भएपछि सामुदायिक विद्यालयमा पढाउने अभिभावकहरुको समेत विश्वास बढ्ने देखिन्छ । यसका साथै गाउँपालिकाले शिक्षामा सुधार गर्न अब नियमित रुपमा विद्यालयको अनुगमन गर्ने भएको छ ।
अनुगमन कार्ययोजना नै बनाई शिक्षा समितिले काम गर्ने भएको हो ।
वि.सं.२०७९ भदौ ३० बिहीवार १२:३३ मा प्रकाशित






























