काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् । बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता गरी अर्को अध्यक्ष बनाउँदा प्रचण्डले आफूलाई पार्टीको सदस्यबाट नै हटाएर छुरा रोपेको आरोप लगाएका हुन् ।
“मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन”, ओलीले भनेका छन्, “प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”
आफू नेकपाको एकता जोगाउन लाग्दा साधारण सदस्यबाट हटाइएको भन्दै ओलीले आन्दोलन धोका, छलबाट नहुने पनि बताए । उनले अहिलेको माओवादी केन्द्र प्रचण्ड गुट मात्रै भएको दाबी गर्दै माओवादी केन्द्र एमालेमा नै मिसिइसकेको जिकिर गरे ।
वि.सं.२०७९ भदौ ३० बिहीवार १५:१४ मा प्रकाशित






























