काठमाडाैं । नेपालको चर्चित मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ ब्रान्डको खुकुरी रम बजारमा ल्याएको छ । कम्पनीले खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको हो । यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम गरी तीन प्रकारका रमहरू भएका छन् ।
नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको शृंखलाहरु सञ्चालन गरिएको कम्पनीको भनाइ छ । यो क्रममा नेपालका सबै प्रिमियम बार र रेस्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको थियो ।
कम्पनीका अनुसार खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो । यसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ । यसलाई बरफ (आइस) हालेर पिउन सकिन्छ, वा कोला वा जुसजस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’लाई कक्टेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिन्छ ।
मोहितो लोकप्रिय कक्टेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ । ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन् । खुकुरी रम मोहितोपारखीहरुलाई अरू कुनै तरल पदार्थ होइन, रममा बनेको मोहितो नै अर्डर गर्नसमेत प्रोत्साहन गर्दछ ।
खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले बताए । उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौँ । हामीले उत्पादन गर्दै आएको रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’
वि.सं.२०७९ भदौ ३० बिहीवार १६:५४ मा प्रकाशित





























