भरतपुर । चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो । घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरुलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए ।
पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा पढ्दै आएका थिए । बालकलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।
राजमार्ग क्षेत्रका अन्य होटलमा पनि बालमजदुर हुनसक्ने भएकाले अनुगमन अघि बढाइने उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले बताए । उनले, “अन्य होटललाई पनि कडाइका साथ निर्देशन दिएका छौँ, अनुगमनमा जाँँदा बालमजदुर फेला परे होटल सञ्चालकलाई कारबाही गर्छौं ।” कानुनअनुसार १८ वर्षभन्दामुनिका बालबालिकालाई कुनै पनि काममा लगाउनु दण्डनीय भएकाले यस्तो नगर्न उपाध्यक्ष सिलवाले सबै व्यवसायीलाई आग्रह गरे ।
अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण
इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गरेकी हुन् ।
शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उनले जानकरी दिइन् । “पहिलो चरणमा करिब रु पाँच लाखको सहायता सामग्री खरिद गरेर वितरण गरेका छौँ”, उपाध्यक्ष सिलवालले भनिन्, “आवश्यकता परे थप बजेट व्यवस्था गरेर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्नेछौँ”, सहायता सामग्रीमा कम्बोड टर्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्विल चियरलगायत सामग्री छन् ।
वि.सं.२०७९ असोज १ शनिवार १३:५५ मा प्रकाशित





























