काठमाडौं । तत्कालीन सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता रहेका कृष्ण बहादुर महारामाथि बलात्कारको आरोप लगाएर जेल समेत पुर्याएकी रोशनी शाही आजभोली बेला–बेलामा केही न केही प्रोपोगाण्डा गरेर चर्चामा आउने गरेकी छन् ।
गत साउनमा पशुपतिमा आयोजित महायज्ञमा सहभागी भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सार्वजनिक स्थलमै ‘बलात्कारी’ भन्दै चिच्याएपछि उनी पक्राउ परेकी थिइन् । यद्यपी सिद्धबाबा भनिने गिरीमाथि लागेको बलात्कार आरोपको मुद्दा अहिले विचाराधिन रहेको छ ।
त्यस्तै सोमबार पनि रोशनी निकै चर्चामा आइन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नका लागि पार्टीहरु तयारीमा लागिरहेका बेला शाही पेरिस डाँडा पुगेर आफु माओवादी कार्यकर्ता रहेको र समानुपातिक टिकट पाउनुपर्ने माग राख्दै चिच्याएकी थिइन् । उनले टिकटको मात्र माग गरिनन् त्यहाँ उपस्थित नेताहरु सबै ‘बलात्कारी’ भएको गम्भीर अराोप समेत लगाइन् ।
के कारण र आधारले म माओवादी कार्यकर्ता होइन ? भन्दै उनी चिच्याइन्, ‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’ शाहीले नेताहरुलाई यस्तो आरोप लगाउँदै चिच्याएको जनाआस्थाले लेखेको छ ।
शाहीले महरासँग जोडेर आफूलाई निर्वाचनमा टिकट नदिने प्रपञ्च रचिएको आरोप लगाउँदै कतिपय नेताले महराको करोड खाएर होस्टाइल भएको आरोप लगाएको सुनेको भन्दै उनले आरोप पुष्टि गर्न चुनौती समेत दिएको बताइएको छ ।
समानुपातिक उम्मेदवार टुंगाउनका लागि बस्ने भनिएको पदाधिकारी बैठक अगाडि शाहीले त्यस्तो हर्कत गरेपछि उनलाई गेटबाट गलहत्याएर निकालिएको बताइएको छ ।
वि.सं.२०७९ असोज ४ मंगलवार १२:५३ मा प्रकाशित






























