back
CTIZAN AD

माटो बेचेर दसैँ खर्चको जोहो

वि.सं.२०७९ असोज ९ आइतवार

1.4K 

shares

महोत्तरी । दसैँ नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहो गर्दैछन् । दसैँ पूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो सङ्ग्रह गर्नु महिलाको मुख्य रोजगारी बनेको छ ।

अहिले बस्तीबस्तीका महिला १०/२० जनासम्मको समूहमा माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का पुग्ने गरेका छन् । दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेंलो र रातो माटोको माग हुने भएपछि गरिब बस्तीका ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्ग्रहमा लागेका हुन् ।

मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । “कमेरे र पहेंलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ”, सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका-६ हतिसर्वाका महिला समूहकी पानवती चौधरीले भनिन्, “यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।” रातो माटो एक बोरा (४० किलो) घर पुर्याउनसके आफ्नो घर पोतेर एक/दुई हजार नगद पनि थैलीमा राख्न पाइने यी महिलाको सपना छ ।

सोह्र श्राद्ध (पितृपक्ष) सकिनासाथ दसैँ सुरु भइहाल्ने हुँदा अहिले घरका परिवारजनकोसमेत सहयोग लिएर गरिब बस्तीका महिला माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्त छन् । “हेर्नोस् न, दसैँ आई त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई/चार पैसाको मुख देख्न पाइने हो नि !” आफ्नै बस्ती नजिकको रातु नदीको डिलमा कमेरे माटो खोस्रिँदै गर्दा भेटिएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरीले भनिन्, “कमेरे र पहेंलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।”

मधेसका खासगरी थारु बस्तीमा अहिले माटो सङ्ग्रहको होड छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । “हेर्नाेस् न, हाँस/कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन्, तर थारु बस्तीका घर पुग्दा भुइँमै बसौँबसौँ लाग्ने चिटिक्क देखिन्छ”, भङ्गाहा–४ थारुटोल बनराका बासिन्दा ७५ वर्षीय केदार ढुङ्गेल भन्छन्, “घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैँ उम्दा देखिन्छन् ।”

दसैँको मुखमा थारु महिलाको साथीसङ्गतले अन्य जाति समुदायका गरिब महिला पनि अहिले माटो सङ्ग्रहमा लागेका छन् । दसैँको मुखमा माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र घरमा बालबच्चाको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने भङ्गाहा-४ कै पलार बस्तीकी सियनकी देवी सर्दार बताउँछीन् ।

मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँ अघि घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिला दुई/चार रुपैयाँ आर्जन गर्न अहिले माटो सङ्ग्रहमा लागेका छन् । माटो आफुहरुका लागि दसैँ खर्चको नगद जोहोको अवसर बनेको यस काममा लागेकी महिला बताउँछीन् । रासस/फाइल फोटो

वि.सं.२०७९ असोज ९ आइतवार १४:१६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...