सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् ।
पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ । किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको बताउछन् हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरुले गरिरहेका छन् ।
किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए । च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् ।
ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन । किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउछन् सञ्चालक लामा । उनले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए ।
यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर छन् । तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ । तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने बताउछन् फार्मका कृषि प्राविधिक विकास पौडेल । त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ ।
यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए ।
फार्मले नियमितरूपमा छ जनालाई र आवश्यकताअनुसार ४०–५० जनालाई रोजगारी दिएको छ । फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न हुँदै आएका छन् । यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन् । आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे ।
वि.सं.२०७९ असोज १० सोमवार १६:४६ मा प्रकाशित






























