अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुने चर्चा कांग्रेस बाहिर पनि चलेको थियो ।
युएनडिपीको आकर्षक जागिरबाट राजीनामा दिएर पूर्ण राजनीतिमा लाग्ने बिचारले करिब एक बर्षदेखी नेपालमा थिए वाग्ले । उनले आफ्नो चाहना कांग्रेसका उपल्लो तहका सबै नेतालाई बताइसकेका पनि थिए ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पनि सकारात्मक नै थिए । खासमा देउवा अघिल्लोपटक सभापति हुँदा नै डा. वाग्लेलाई महासमितिमा मनोनित गरेर राजनीतिको बाटो उनै देउवाले खोलिदिएका थिए । सुरुमा वाग्ले गुट–उपगुट भन्दा पनि सबैका प्यारा थिए । समय क्रमसँगै उनको ख्याती बिश्वब्यापी बन्यो । उनको संगत बालुवाटारमा मात्र सिमित रहेन । भनिन्छ बिभिन्न फोरुमहरुमा बक्ता बन्ने क्रममा पार्टीभित्र पनि बालुवाटारले नरुचाएका मान्छेसँग उनको हिमचिम बढेको आरजु लगायतलाई मन परेको थिएन ।
प्रस्ट बोल्ने वाग्ले बिस्तारै अर्गेलो र सबैका लागि चुनौति बन्न थाले । भित्रभित्रै बालुवाटारले उनलाई रोक्न उनकै साथी रहेका अर्का विश्व पौडेललाई अगाडि सारेको समाचार मिडियामा आउन थाले । नजानिदो पाराले वाग्ले, शेखर गगन गुटको हो भन्ने भास्य निर्माण गरियो । उनले उम्मेदार दिन चाहेको चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा बिश्वलाई अगाडि सारियो ।
यो सबै बुझेका वाग्लेले काठमाडौं ५ या आफु जन्मेको गोर्खाबाट भए पनि उठ्न तयार रहेको जानकारी गराए । उता एउटा समुह कुनै पनि हालतमा पनि उनलाई उम्मेदवार बन्न नदिने निर्णयमा पुगेको थियो ।
जब गगन थापाले वाग्लेलाई रोक्न सिंगो बालुवाटार लागेको थाहा पाए तब उनले बालुवाटारबाटै फोन गरेर तपाईं मेरो क्षेत्रबाट उठन तयार हुनुहुन्छ भने म तपाईंलाई छोडेर सर्लाही जान्छु भने । वाग्लेले सहमति जनाए । गगन थापा काठमाडौं छोडेर सर्लाही जाने खबर संजालमा भुसको आगो जसरी फैलियो । गगन थापाले स्वर्णिमलाइ ल्याउन आफ्नो क्षेत्र छोडेको कुरा थाहा पाएपछि देउवाले तुरुन्तै प्रकाशशरणलाई फोन गरेर नैनसिंह महरलाई काठमाडौं ४ को टिकट दिन लगाए । गगनले आफूले स्वर्णिम बाहेक अरु कसैलाई पनि आफ्नो क्षेत्र छोड्न् नसक्ने अडान लिए । त्यसपछि टिकट हात पारेको केही घण्टामै महरको टिकट खोसियो । यो सबै खेलका बिच डा.वाग्ले उम्मेदवार बन्ने सबै ढोकाहरुमा बालुवाटारले चुकुल लगाइदियो ।
उम्मेदवार बन्न रोक्नुको कारण ?
नेपाली कांग्रेसमा एउटा अघोषित प्रचलन नै छ, बिदेशमा पढे लेखेको खुला अर्थतन्त्र बुझेको मान्छेलाई अर्थमन्त्री बनाउने । गिरिजाप्रसादले रामशरण र महेश आचार्यलाई अर्थमन्त्री बनाएका थिए । भावी अर्थमन्त्रीको रुपमा वाग्लेलाई हेरिएको थियो । अस्ती भर्खर बिबादका बेला पनि जनार्दन शर्मालाई हटाएर स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन चर्को आवाज उठेको थियो । वाग्लेको चुलिदो उचाइले आफ्नो राजनीति सकिने डरले केही लाई तर्साएको थियो ।
खासमा चुनावपछि पनि गठबन्धनका कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र अर्थमन्त्री पनि कांग्रेसकै भागमा पर्ने हुँदा वाग्लेले जितेको खन्डमा उनलाई अर्थमन्त्री बनाउन दबाब पर्ने र उनी अर्थमन्त्री हुन्छन भन्ने प्रकाशशरण महतहरुको बुझाई रहेको थियो । महत समानुपातिकबाट चुनिएर फेरि अर्थमन्त्री हुन चाहन्छन् । यसरी सतिले सरापेको कांग्रेसबाट वाग्लेले मौका पाएनन् !
वि.सं.२०७९ असोज २४ सोमवार ११:५१ मा प्रकाशित






























