काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक महिनाको लागि कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि बढेको हो । असोजमा बैंकहरुको औसत आधारदर ९.५६ प्रतिशत रहेकोमा त्यसलाई बढाएर कात्तिकमा साढे १० प्रतिशतको हाराहारीमा पुर्याएका हुन् ।
ब्याजदर सार्वजनिक गरेका मेगा, कुमारी, सेञ्चुरी, सानिमा, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य र स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतको आधारदर बढेको छ । जसमा मेगा बैंकको १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशतबाट बढेर १०.८७ प्रतिशत र सेञ्चुरी बैंकको १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत पुगेको छ ।
त्यस्तै, सानिमा बैंकको ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत, एभेरेष्ट बैंकको ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ ।
बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत रहेको व्यवस्था छ । सोहीअनुरुप बैंकहरुले औसत आधार दर बढाएका हुन् । आधार दर बृद्धि भएसँगै कर्जाको ब्याजदरपनि बढ्ने अवस्था सिर्जना भएको हो ।
सनराइज बैंकले आधारदर गत असार महिनाको १०.०८ प्रतिशत राखेर सार्वजनिक गरेको छ । अन्य बाणिज्य बैंकहरुमा नेपाल एसबिआई, प्राइम, एनएमबि, सिभिल, प्रभु, एनसीसी, कृषि विकास, नबिल र नेपाल बैंकले भने आधारदरलाई यथावत राखेका छन् ।
नेपाल एसबिआईको १० प्रतिशत, प्राइमको ९.९९ प्रतिशत, एनएमबिको ९.९५ प्रतिशत, सिभिलको ९.५ प्रतिशत, प्रभुको ९.४२ प्रतिशत, एनसीसीको ९.३५ प्रतिशत, कृषि विकासको ८.९० प्रतिशत, नबिलको ८.७७ प्रतिशत र नेपालको ७.९९ प्रतिशत आधारदर रहेको छ । यी बैंकहरुले सो आधारदर यसअघिकै आधारदर हो ।
अहिले अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । यी बैंकहरुमा प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी हुन आउँछ । ११ प्रतिशत आधारदर भएका बैंकहरुबाट ऋण लिँदा सो बैंकले त्यसमा ७ प्रतिशत सम्म प्रिमियम जोड्ने गर्छ । त्यसो गर्दा ऋणीलाई कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पर्न जान्छ ।
साढे प्रतिशतको हाराहारीमा रहेको स्प्रेडदर पनि बढेर ४ प्रतिशत पुगिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदरलाई भने यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । अहिले बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म र साधारण बचत खातामा भने १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।
बैंकहरुले नियमित ब्याजदर बढाउँदा उद्योगी तथा व्यवसायीको लागत बढ्ने भएको छ । जसले गर्दा उत्पादन र सेवाको लागत बढ्ने निश्चित छ ।
वि.सं.२०७९ कात्तिक १ मंगलवार १२:२७ मा प्रकाशित






























