विजय थापा । नेपाली मूलका चित्रकार राजेन्द्र केसी टेक्ससमा सम्पन्न अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा उत्कृष्ट नव कलाकार घोषित भएका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव एकदशक भन्दा बढी समय देखि बस्दै आएका काठमाडौं जावलाखेलका चित्रकार केसी टेक्ससमा सम्पन्न अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा उत्कृष्ट नव कलाकार घोषित भएका हुन् ।
टेक्सस राज्यको सान एञ्जेलो शहरमा गत अक्टोबर २१ देखि २९ सम्म आयोजित उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने केसी एक मात्र नेपाली मूलका हुन् । एन प्लेन एयर टेक्ससको नवौ बार्षिक प्रतियोगिता एक प्रतिष्ठित अन्तर्राष्ट्रिय ज्युरीड प्रतियोगिता हो ।
उक्त प्रतियोगिता सहभागी हुन् डिसी क्षेत्रबाट ४ जना छनौट भएका मध्ये केसी पनि परेका थिए । उक्त प्रतियोगितामा बिजेताहरुलाई बिभिन्न विधामा पुरस्कारहरु प्रदान गरिएको छ ।
चित्रकार केसीलाई बेस्ट न्यू आर्टिस्ट अर्थात् उत्कृष्ट नव कलाकारको रुपमा घोषणा गरिएको छ । केसी डिसी क्षेत्रबाट सहभागी हुन् टेक्सस गएका हुन् भने आयोजकले नै सम्पूर्ण खर्च गरेको केसीले बताए । उनले खुसी व्यक्त गर्दै अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागी भै नेपाल र नेपालीको नाम राख्न सकेको गर्व लागेको बताए ।
उनले सय बर्ष ईतिहास बोकेको अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागी भै पुरस्कार हासिल गर्न सक्नु नै ठूलो कुरा भएको बताए । केसीका दशदिने टेक्सस बसाईका क्रममा ५ दिनमा बनाएका १२ वटा चित्रहरु पुरै बिक्रि भएका छन् ।
काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका चित्रकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु हात पारि सकेका छन । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा जम्दै छन् ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:५४ मा प्रकाशित






























