काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्र देशका ७५ जिल्लामा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार मनाङ र मुस्ताङ बाहेक अन्य सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।
त्यसैगरी निर्वाचनका लागि ७ करोड मतपत्र छापिइसकेको आयोगले जनाएको छ । निर्वाचनका लागि झण्डै ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेका आयोगले जनाएको छ ।
मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने पर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको र सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भइसकेको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको पनि आयोगले जनाएको छ ।
छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेशसभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।
धमाधम ढुवानी
आयोगले मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएका जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी भइसकेको छ । जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने आयोगले जनाएको छ ।
आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकोले योपटक निर्वाचन क्षेत्र अनुसार फरक फरक मतपत्र प्रयोग हुनेछ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने बताइएको छ ।
आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताहरूका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ ।
अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात्र मतदान गर्न पाउने छन् । आयोगले बुधबार सम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा मतपत्र ढुवानी गरिसक्ने जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १२:२५ मा प्रकाशित






























