काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार रहेका भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको विषयमा आयोगले स्पष्टीकरण सोेधेको हो ।
भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
‘ तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’ आयोगद्धारा सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १३:१२ मा प्रकाशित






























