काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आव्हान गरेको समय सकिनै लागेका बेला सत्तारुढ गठबन्धनभित्र सरकार गठनको विषयले औपचारिकरुपमा प्रवेश पाएको छ । गठबन्धनका दलहरु नयाँ सरकार गठनबारे औपचारिकरुपमा छलफलमा जुटेका छन् ।
बिहीबार नवनिर्वाचित सांसदको सपथ लगत्तै दलहरु छलफलमा जुटेका थिए । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा शक्ति बाँडफाँटको मोडेलबारे छलफल चलेको थियो । तर, बिहीबारको छलफलमा दलहरुबीच सहमति भने जुट्न सकेन ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायतका पद कुन पार्टीले लिने भन्ने छलफलको मुख्य विषय रहेको दलहरुले बताएका छन् । बिहीबारको छलफलमा नेताहरुले आ–आफ्नो दाबी सिधा–सिधा प्रस्तुत गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री आफुँले पाउनुपर्ने अडान राखेका थिए भने प्रधानमन्त्री तथा कांग्रेस शभापति शेरबहादुर देउवाले पहिलो चरणको प्रधानमन्त्री छाड्न नसक्ने अडान दोहो¥याएका थिए ।
कांग्रेसका एक नेताले भनेअनुसार देउवाले अढाई वर्ष पछि स्वतः नेतृत्व हस्तान्तरण गरिने हुँदा सहमति गर्न माओवादीलाई आग्रह गरेका थिए । तर, प्रचण्डले सुरुको पालो आफुले पाउनुपर्ने अडान स्पष्ट राखेका थिए ।
ती नेताले बताएअनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पदको अडान राखेको छ । माओवादी केन्द्रलाई सभामुख दिने प्रस्ताव गरेको छ । तर, माओवादी केन्द्रले राष्ट्रपतिमा दाबी नगरेको भएपनि सुरुको प्रधानमन्त्री र सभामुख लिने अडान राखेको छ ।
कांग्रेस प्रवत्ता प्रकाशशरण महतले प्रचण्डले आशंकापूर्णं रुपमा सुरुको प्रधानमन्त्री दाबी गरेको भएपनि सहमतिमा निर्णय हुने बताए । “प्रचण्डजीले सुरुको प्रधानमन्त्री दाबी गर्नुभएको छ, त्यो अस्वभाविक पनि छैन”, महतले सञ्चारमाध्यमसँग भनेका छन्, “पछि के हुन्छ भन्ने शंकाका आधारमा उहाँले त्यो भन्नुभएको हो, हामी विश्वास दिलाउने गरी सहमति गर्छौं ।”
माओवादीले भने शुक्रबारसम्म निर्णायक जवाफ दिन भनेको छ । प्रचण्डका स्वकीय सचिव एवम् माओवादी नेता रमेश मल्लले बताएअनुसार माओवादीले राखेको अडानबारे निर्णय दिन शुक्रबारसम्मको समय दिइएको छ ।
“बिहीबार भएको छलफलको निर्णायक जवाफ शुक्रबारको छलफलमा आउँछ, हामीले आजसम्म निर्णय लिनुपर्छ भनेका छौं”, मल्लले भनेका छन्, “अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेगरी सहमति हुन्छ भन्नेमा हामी आशावादी छौं ।”
सहमति जुटाउन शीर्ष नेताहरुको दौडधुप
बिहीबारको छलफल पछि शुक्रबार बिहानैदेखि सत्ता गठबन्धनका नेताहरुको दौडधुप चलिरहेको छ । कांग्रेसले माओवादीलाई फकाउन थालेको छ भने माओवादीले कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास गरेको छ ।
शुक्रबार बिहानै कांग्रेस नेता प्रकाशमान सिंह माओवादी अध्यक्ष प्रचण्डलाई फकाउन उनकै निवास पुगेका थिए । उनले ‘पहिलो कार्यकाल देउवालाई छाड्न’ आग्रह गरेका थिए । सिंहका प्रेस सहयोगी युपी लामिछानेले बताएअनुसार सिंहले प्रचण्डलाई केही लचक हुन आग्रह गरेका थिए । तर, प्रचण्डले भने पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट सन्देश सिंहमार्फत देउवालाई पठाएका छन् ।
यसअघि कांग्रेसका उपसभापति पूर्णंबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका देउवाका विश्वासपात्र बालकृष्ण खाँडले पनि प्रचण्डसँग पटक–पटक छलफल गरेका थिए ।
दलहरुबीच शुक्रबारभित्रै प्याकेजमै सहमति गर्ने तयारी भएको छ । राष्ट्रपतिले दिएको समय पुस १० गते आइतबार सकिँदैछ । जुन अगाडि नै दलहरुबीच प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मका पदहरु टुंग्याउनु पर्ने हुन्छ । तर, कांग्रेस र माओवादीबीच नेतृत्वमा आलोपालोको विषय भने पेचिलोपूर्णं हुने देखिएको छ ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १३:४४ मा प्रकाशित






























