काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै बालुटारस्थित सरकारी निवास सर्ने भएका छन् ।
निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषीबाट साइत निकालेर आजै बालुवाटारबाट बाहिरीएपछि प्रचण्डले पनि उनै ज्योतिषीको सल्लाहमा आज साझैँ खुमलटारबाट बालुटावार सर्ने साइत निकालेको बताइएको छ ।
देउवा र प्रचण्डको घर सर्ने साइत जुराइदिने ज्योतिषी हुन् टीकाराम घिमीरे । उनले प्रचण्डको सचिवालयबाट आफुलाई घर सर्नका लागि उत्तम साइत हेरिदिन आग्रह गरेपछि आफुले पेशागत धर्म निभाएको बताएका छन् ।
उनले खुमलटारमा प्रधानमन्त्रीसँगै बसेर घर सर्ने उत्तम साइत पाँचबजेका लागि निकालेको बताएका छन् ।
यद्यपी कम्युनिष्ट पार्टीका प्रधानमन्त्री प्रचण्डले घर सर्नका लागि साइत हेराएको भन्दै सामाजिक संजालमा त्यसको आलोचना तथा व्यंग्य समेत गरिएको छ ।
नेकपा माओवादीका युवानेता लेखनाथ न्यौपानेले दौरा सुरुवाल लगाउने, ज्योतिषी हेराएर साइत जुराउने अब बोको काटेर ग्रह कटाउन भन्दै व्यंग्य गरेका छन् ।
‘दौरा सुरुवाल लगाउने, ज्योतिषी बोलाएर साइत जुराउने, अब बोको काटेर ग्रह कटाउने–हाम्रो पार्टी अध्यक्ष, हाम्रो पार्टीको नाम–नेकपा (माओवादी केन्द्र), हाम्रो मार्ग निदेशक सिद्धान्त–मालेमावाद, माओवादीको भविष्य ?!’ उनले सामाजिक संजालमा लेखेका छन् ।
वि.सं.२०७९ पुस १३ बुधवार १६:०९ मा प्रकाशित






























