काठमाडौं । कम्बोडियाको एक होटलमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ ।
कम्बोडिया र थाइल्यान्ड सीमा नजिकै रहेको पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आगलागीमा परेर पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाईते भएका छन् ।
एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीलाई आगलागीमा पाण्डे पनि फसेको जानकारी दिएका थिए ।
पाण्डेले खड्कासँग आफुलाई बचाइदिन भन्दै अनुरोध समेत गरेका थिए । आगो लागेपछि पनि परिवारसँग एकघण्टा कुरा गरेका पाण्डे होटलको १२ तलाबाट हाम फालेको बताइएको छ ।
आगलागीमा परेर मृत्यु भएका पाण्डेको शब एनआरएनए कम्बोडियाका अध्यक्ष खड्काको पहलमा नेपाली दूताबास बैंककले नेपाल पठाउन लागिएको बताइएको छ ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १३:२७ मा प्रकाशित






























