काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको इकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिबार (आज) हुँदैछ ।
साधारण सभामा देशभरबाट १५,७२७ सहकारी संघ/संस्थाका प्रतिनिधिहरु सहभागी हुने बैंकले जनाएको छ ।
जसअनुसार सभामा प्रदेश नम्बर–१, मा २,५५२, मधेश प्रदेशमा २०३९, बागमतीमा ६,५०७, गण्डकी प्रदेशमा १,५३५, कर्णालीमा ७४८ र सुदूरपश्चिम प्रदेशमा ५०४ सहकारीका प्रतिनिधिहरु सहभागी हुने छन् ।
पुस १६ हुने प्रदेश स्तरको ईकाइहरूमा साधारण सभा र पुस १८ गते एकाइ बैठकका प्रतिनिधिहरूले निर्णय प्रमाणित गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बैंकले जनाएको छ । साधारण सभा सात वटै प्रदेशहरूमा एकै दिन सहकारीका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । गत वर्षको साधारणसभाहरु इकाइगत रूपमा छुट्टा–छुट्टै मितिमा हुने गरेको भन्दै यो पटक एकै दिन गर्न लागेको भन्दै धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने बताए ।
१९औं वार्षिक साधारण सभा पुस १६ गते प्रदेश नम्बर–१, को सम्पूर्ण जिल्लाहरूको लागि अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको लागि धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको लागि स्काई दरबार बैंकेक सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा बिहान ८ बजेदेखि हुने भनिएको छ ।
साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन हुने छन् । बैंकको १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति हुने व्यवस्था छ । खुला सञ्चालक ४, सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेशबाट १, लेखा सुपरिवेक्षण समिति खुला १ र लेखा सुपरिवेक्षण समिति महिला १ बाहेक अन्यमा निर्विरोध भैसकेको छ ।
खुला सञ्चालक ४ मा १६ जनाको उम्मेदवारी परेको छ । लेखा सुपरिवेक्षण समिति खुला १ मा ४ जनाको उम्मेदवारी परेको छ भने लेखा सुपरिवेक्षण समिति महिला १ मा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेश १ मा २ जनाको उम्मेदवारी परेको छ । यी पदमा भोली निर्वाचन हुँदैछ । सातवटै प्रदेशमा हुने निर्वाचनमा विद्युतीय मतदान हुँदैछ । विद्युतीय मतदान भएका कारण आवश्यक उम्मेदवार सबैलाई मतदान गर्नुपर्ने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए । उदाहरणको लागि ४ खुला सञ्चालकमा मतदान हुँदैछ । ४ वटै सञ्चालनमा मतदान गरेपछि मात्रै अर्को पदको लागि विकल्प खुला हुन्छ ।
वि.सं.२०७९ पुस १६ शनिवार १०:१४ मा प्रकाशित





























