back
CTIZAN AD

मनोमानी भाडा, १५ किलोमिटरकै ५५० रूपैयाँ !

वि.सं.२०७९ पुस १८ सोमवार

885 

shares

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् । “सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उनले भने, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?”

खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउछन् । “घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।” उनका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । “कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो”, उनले भने, “जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।”

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । “प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भने, “त्यो बेलामा कालुखेतीबाट रु एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।”

उनका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । “कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।” उनले भने । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन् “घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।”

उनी पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउछन् । उनी भन्छन्, “जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि रु सयभन्दा बढी असुल्छन् ।” यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीर्काछन् । उनी भन्छन्,, “जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।” सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनी बताउछन् ।

“गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ÷दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।” उनले भने । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । “सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।” उनले भने ।

अब नयाँ भाडा निर्धारण हुन्छ :पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउछन् । “हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।” उनले भने ।

प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । “गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।” सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ । रासस

वि.सं.२०७९ पुस १८ सोमवार ०९:०१ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...