काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सबै दलसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
‘राष्ट्रिय सहमति गरौं, मिलेर जाऔं, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ त्यसलाई सुधारौं भन्दा सबै पक्ष छलफलमा बस्नुहुन्छ ।’ सचिव पौडेलले भने ।
उनले राष्ट्रपतिको निर्वाचनमा एमालेलाई बाहिर राखेर जान खोजेको नभई एमाले कांग्रेस दुवैसँग छलफल गरेर राष्ट्रिय सहमतिमा जान खोजिएको बताए । उनले भने– ‘हामी नयाँ शिराबाट छलफल गर्छौं ।’
यसअघि सत्ता गठबन्धनबीच राष्ट्रपति पद एमालेको भागमा परेको भनिए पनि पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
वि.सं.२०७९ माघ २१ शनिवार १९:०६ मा प्रकाशित




























