Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

१९ औँ वर्षमा नेपाल टेलिकम, दुई करोड १३ लाख २५ हजार बढी ग्राहक



काठमाडौँ । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेकी छन् ।

मन्त्री शर्माले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गरेकी छन् ।

उनले सन्देशमा सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवाप्रवाह गर्न एवं सेवाग्राहीले लागतअनुरुपको सेवा उपयोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरेकी छन् ।

त्यस्तै सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाएका छन् ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व रु ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा रु आठ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम