Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय बजारका कारण मारमा परे नेपाली उपभोक्ता



पोखरिया । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन् । भारतले धान निकासीमा कोटा लगाएको र भारतमै पनि मूल्यवृद्धि भएकाले नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा धानको मूल्य बढेको हो ।

धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामल रु ५८, रु ५० किलोमा पाइने मन्सुली चामल रु ६४ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आए पनि यसपाली भने केही भए पनि राहत पाएका छन् । वीरगञ्ज वडा नं ३० स्थित लालपर्साका किसान सीतारामप्रसाद भन्छन्, “धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले कम नै हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुसी भएको छु ।’’

उनी भन्छन्, “म अहिले ६५ वर्षभन्दा माथिको भए, करिब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन मल समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने अवस्था छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या हुनेगरेकामा अहिले अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा हामी किसान खुसी नै छौँ तर यो पर्याप्त चाहिँ होइन ।”

अर्का पर्साको सबैठवा–४ की किसान किसमतीया देवीे भन्छिन् , “धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद्य पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि भएको हो । यो बृद्धिले केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्छ ।

धानको मूल्यवृद्धिले एकातिर किसान खुसी भएका छन् भने अर्कोतर्फ चामलका उपभोक्ता भने मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सय रुपैयाँसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएका कारण आफूहरु मारमा परेको उपभोक्ताको गुनासो छ ।

वीरगञ्ज महानगर वडा नं १२ मूर्लीकी सरिता देवी कुर्मी चामलको मूल्य अचानक बढेपछि गर्जो टार्न समस्या हुने गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू वर्षमा छ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेका कारण भारतमै धानको मूल्य बढेकाले नेपालमा पनि धानको मूल्यसँगै चामलको मूल्य पनि बढेकाले उपभोक्ता मारमा परेका हुन् ।

नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ता भारतले गत वर्षदेखि समर्थन मूल्य पाँचदेखि छ रुपैयाँ बढाएर बिक्री गर्ने गरेको र भारतबाट धान, चामल नेपालतर्फ आयात गर्दा त्यसमै भन्सार कर र भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने भएकाले मूल्यवृद्धि भएकोे बताउछन् । उनी अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारतमै निर्भर रहेको र नेपालको बजारमा पनि भारतकै धान, चामलको समर्थन मूल्यले ठाउँ लिने हुँदा यस्तो अवस्था सिर्जना भएको हो भन्छन् ।

गत वर्ष यही याममा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार आठ सय थियो भने हाल तीन हजार एक सय रुपैयाँ छ । त्यही धान भारतमा प्रतिक्विन्टल रु तीन हजार दुई सय ५० रुपैयाँ अर्थात् नेपालको धान, चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको सुबोध गुप्ताको भनाइ छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम