काठमाडौं । आगामी मंगलबारदेखि राजधानीमा आयोजना हुने १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी आगामी मंगलबारदेखि हुँदैछ । प्रदर्शनी तथा मेला पाँच दिनसम्म (फागुन २ देखि ६ गते)सम्म चल्ने आयोजकले जनाएको छ ।
कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना हुन लागेको हो ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले जानकारी दिएअनुसार स्टल बुकिङ्गदेखि अन्य व्यवस्थापकीय कामहरु करिब–करिब सकिएको छ । सिंहले जानकारी दिएअनुसार आजदेखि स्टल निर्माणका काम हुनेछन् ।
महासंघले यसअघि भनेअनुसार केही स्टलको संख्या भने घट्ने भएको छ । संघ र प्रदेश सरकारले दिने भनिएको सहयोग प्राप्त नभएपछि स्टलको संख्या घटाएर प्रदर्शनी गर्न लागिएको सिंहले जानकारी दिए ।
प्रदर्शनीमा १८० वटा जति स्टल रहने सिंहले बताएका छन् । उनका अनुसार शनिबार सम्ममा १० वटा वैदेशिक उद्यमीहरुको स्टल रहने निश्चित भइसकेको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनका उद्यमीहरुको सहभागिता रहने बताइएको छ ।
अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको छ । अर्गानिक उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आमनागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।
अर्गानिक उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था मेला आयोजकले मिलाएको छ ।
वि.सं.२०७९ माघ २९ आइतवार १४:३९ मा प्रकाशित






























