काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन १ लाई जनयुद्ध दिवस मनाइएकाे प्रति आपत्ति जनाएका छन् । फागुन १ लाई जनयुद्ध दिवस मनाउने गरी सरकारकाले निर्णय गरेकाे ११ दिनपछि ओलीले एक सार्वजनिक कार्यक्रमका बीच आपत्ति जनाएका हुन् ।
ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए।
‘हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर क्यालेन्डरमा राख्ने निर्णय भएछ, त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ, जुन कुरा सही होइन’, ओलीले भनेका छन्, ‘सरकारले किन त्यो गर्यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्न पर्यो ? त्यो मैले पनि बुझेको छैन ।’
उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गरेको भन्दै आपत्ति जनाए ।
‘सम्झि सम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन,’ ओलीले भने ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:५२ मा प्रकाशित






























