काठमाडौ । आइतबार सम्पन्न तनहुँ १ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।
डा. वाग्लेले ३४ हजार ४८० मतसहित विजयी हुँदा उनका प्रतिश्प्रधी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका थिए । डा. वाग्लेले १४ हजार ३८८ मतले भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् ।
त्यसैगरी नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेर तेस्रो स्थान बनाएका छन् ।
१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँमा आइतबार भएको निर्वाचनमा ६५ हजार बढी मत खसेको थियो ।
तनहुँबाट प्रतिनिधि सभा सदस्यमा विजयी डा. वाग्ले चैत १५ गते नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनलाई सोहि दिन नै रास्वपाले तनहुँमा आफ्नो पार्टीको उम्मेदवार बनाएको थियो ।
गोरखामा जन्मिएका वाग्लेले काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट विद्यालयस्तरको शिक्षा, लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकतहको अध्ययन बिएस्सी (इकोनोमिक्स) गरेक थिए । साथै अमेरिकाको हार्वड विश्व विद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा परेपछि सांसद पद खारेज भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीनै क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
वि.सं.२०८० वैशाख १२ मंगलवार ०७:२२ मा प्रकाशित






























