
पूर्वगभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपाल मुलुकको अर्थतन्त्र श्रीलंका वा अन्य देशको जस्तो नभएको बताउँछन् । मुलुकको अर्थतन्त्रमा केही सुस्तता छाएको भएपनि संकटमै नपुगेको उनको भनाई छ । “श्रीलंका र हाम्रो अर्थतन्त्र जमिन र आकाशको फरक छ । त्यहाँ देखिएको समस्या बेग्लै कारणले आएको हो भने हाम्रो बेग्लै कारणले आएको हो । जुन तुलनायोग्य छैन”, हामीसँगको कुराकानीमा उनले भनेका छन्, “हाम्रा आर्थिक सूचक निकै भिन्न छन्, हाम्रो सूचकले हामी पुरानै अवस्थामा तर, थप सुधारको अवस्थामा गएको बताउँछन् तर, त्यहाँ त्यस्तो छैन ।”
सरकार र केन्द्रीय बैंकका नीतिगत कमजोरीले केही समस्या देखिएको डा. नेपालको निष्कर्ष छ । जुन नीतिलाई समयानुकुल बनाउन सके समस्या समाधान हुने उनले बताए । तर, त्यसमा ढिलाई गर्न नहुने उनले सुझाएका छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे पूर्वगभर्नर तथा अर्थविद् डा. नेपालसँग राजेन्द्र बरालले गरेको कुराकानीको सम्पादित अंश :
खास, मुलुकको अर्थतन्त्रमा देखिएको समस्या के हो ?
कोभिड महामारीदेखि नै नेपालको अर्थतन्त्रमा केही समस्या देखिएको थियो । समस्यामा परेको बेला सरकार र राष्ट्र बैंकबाट विभिन्न शीर्षकमा पैसा बाँड्ने काम भयो । पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाका नाममा ठूलो स्तरमा ऋण प्रवाह भयो । कोभिडको प्रभावबाट त्राण दिन भन्दै दिइएका ति ऋण अवस्था सामान्य बन्दा पनि फिर्ता भएन । त्यसो हुन नसक्नुमा केन्द्रीय बैंकको नियमन र सुपरिवेक्षणको पाटो पनि कमजोर देखियो । १९ प्रतिशतसम्म कर्जा विस्तार हुनुपर्नेमा ३२ प्रतिशतसम्म पुग्यो । भए भरको पैसा सबै बाहिर गयो । कर्जा विस्तारको एउटा सीमा थियो, त्यो सीमाभन्दा पनि बढी कर्जा विस्तार हुनाले बैंकहरुमा लगानी योग्य रकम कम भयो ।
यहीबीच केन्द्रीय बैंकको ब्याजदर तोक्ने नीतिका कारण ठूलो रकम बैकिङ्ग सिस्टममा आउन सकेन । पैसा सहकारी, जग्गा, क्रिप्टो करेन्सी, भारतीय बोर्डर साइडममा पुग्ने अवस्था बन्यो । एकातिर बैकिङ्ग सिस्टममा पैसा अभाव हुने र अर्कोतिर विप्रेषण आप्रवाहमा कमी आउँदा राज्यको सञ्चितीमा ठूलो कमी आयो । ६३ वर्ष लगाएर १३/१४ महिनाको लागि पुग्ने गरी रहेको वैदेशिक मुद्रा छ महिनालाई पनि नपुग्ने अवस्था पुग्यो । जसको अर्थतन्त्रमा ठूलो चाप देखियो । यहीबीच युक्रेन युद्धको कारण विश्वव्यापीरूपमा छाएको मूल्यबृद्धिले राज्यको ढुकुटीमा थप समस्या पार्ने अवस्था बन्यो ।
यी तमाम समस्या देखिनुमा कतिपय हाम्रा आन्तरिक कारण पनि छन् । जुन सरकार र केन्द्रीय बैंकले समयमै बुझेनन् । त्यतिबेला मैले अर्थमन्त्रीलाई पनि समस्या आउँदैछ है भनेर भनेको थिएँ । गभरर्नरलाई पनि भनेको थिएँ । अरु सबै नेताहरुलाई त मैले सार्वजनिकरूपमा नै भनेको थिएँ । २०७८ सालको दशैंताका मैले सार्वजनिक रूपमा लेखनै लेखेर सम्भावित समस्याबारे सुझाएको थिएँ । तर, कसैले कुरो सुनेनन् । हाम्रो मुख्य समस्या विदेशी मुद्राको सञ्चितीमा कम हुँदा आएको हो ।
श्रीलंका र हाम्रो अर्थतन्त्र जमिन र आकाशको फरक छ । त्यहाँ देखिएको समस्या बेग्लै कारणले आएको हो भने हाम्रो बेग्लै कारणले आएको हो । जुन तुलनायोग्य छैन । हाम्रो सूचकले हामी पुरानै अवस्थामा तर, थप सुधारको अवस्थामा गएको बताउँछ । हाम्रो सबाल हामी कसरी बलियो बन्ने भन्नेतर्फ हो ।
अहिले राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकलाई हेर्दा, अर्थतन्त्र सकारात्मक दिशातर्फ गइरहेको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
अहिले अर्थतन्त्रमा सुधार जस्तो देखिए पनि खासमा यो सुधार होइन । आयात घट्दा विदेशी मुद्रा सञ्चिति बढेको हो । अहिले विदेशी मुद्रा सञ्चिति बढेर १०/१ महिनालाई पुग्ने १० अर्ब हाराहारी पुगेको छ । हामीले कतिपय कुराहरुलाई आयातमा प्रतिबन्ध लगाएका थियौं । अहिले प्रतिबन्ध अहिले हटेको छ । प्रतिबन्ध हटाए पनि यो पुर्ण रूपमा कार्यान्वयनमा आएको छैन । अहिलेको अवस्थामा भन्ने हो भने हामीले बन्द गरेर जम्मा गरेका छौं । भोलि अर्थतन्त्र अलिकति चलायमान हुने वित्तिकै के हुन्छ हेर्न नै बाँकी छ ।
स्वयम् गभर्नरदेखि राज्यको माथिल्लो तहका केहीले नेपालको अर्थतन्त्रलाई श्रीलंका र पाकिस्तानको अर्थतन्त्रसँग दाँजेर हेरेका छन् । अहिलेको खास अवस्था त्यस्तै हो ?
गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकको बाटोतिर गैरहेको छ पनि भन्नु भयो तर, यो कुरा उहाँले झुक्किएर भन्नुभएको हुनुपर्दछ । श्रीलंका र हाम्रो अर्थतन्त्र जमिन र आकाशको फरक छ । त्यहाँ देखिएको समस्या बेग्लै कारणले आएको हो भने हाम्रो बेग्लै कारणले आएको हो । जुन तुलना योग्य छैन । हाम्रा आर्थिक सूचक निकै भिन्न छन् । हाम्रो सूचकले हामी पुरानै अवस्थामा तर, थप सुधारको अवस्थामा गएको बताउँछन् तर, त्यहाँ त्यस्तो छैन । श्रीलंकामा त विप्रेषण पनि आएन, पर्यटक पनि आएनन् ।
हाम्रोमा त पर्यटकहरुको आगमन पनि राम्रै छ । यो आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा करिब ७० प्रतिशत जतिले बढेको छ । विप्रेषण आप्रवाह पनि बढेकै छ । तर, श्रीलंकामा त्यस्तो थिएन । जिडिपिको १२ प्रतिशत हिस्सा ओगट्ने विप्रेषण आप्रवाह पूर्ण बन्द भएको थियो । उसले ठूलो स्तरमा विदेशीसँग लिएको ऋण ब्याज तिर्ने अवस्था थिएन । जुन हामीसँग मिल्दैन ।
परनिर्भर खालको अर्थतन्त्र हुँदा हुँदै पनि त्यहाँ राजापाक्षेले चुनाव जिते सबै निःशुल्क गर्छु भनेका थिए । उनले आयकर घटाए, अन्य करका दरहरु पनि घटाए । कर मात्रै १५ प्रतिशतबाट घटाएर आठ प्रतिशतसम्म पुर्याएका थिए । सबैलाई सहुलितको व्यवस्था गरेका थिए । कतिपय शुल्कहरुलाई हटाइदिएका थिए । जसका कारण सरकारको आम्लानी ५० प्रतिशतभन्दा घटेको थियो ।
अर्गानिक श्रीलंका बनाउने भन्दै खाद्यबालीमा लगाउने विषादी तथा मलहरुको आयातमा प्रतिबन्ध लगाइयो, जसका कारण खाद्य उत्पादन ५० प्रतिशतभन्दा कम भयो । उसको नीतिकै कारणले श्रीलंकको अर्थतन्त्र खच्किएको हो । जसमा कोभिड सहायक रह्यो । सन् २०१९मा श्रीलंकमा २६० जना पर्यटकहरुको हत्या गर्ने गरी आतंकवादी हमला भयो, जसको प्रभाव त्यहाँको पर्यटन क्षेत्र ध्वस्त बन्यो । कोभिडको असर र आन्तरिक नीतिका कारण पनि त्यहाँको अर्थतन्त्रमा समस्या आएको हो । जुन हामीसँग मिल्दैन ।
जुन तपाईंले तथ्यांकीय विषय पेश गर्नुभयो, यसबाट निराश हुने अवस्था देखिन्न तर, उत्साहित हुने अवस्था पनि छैन । खासमा हाम्रो अर्थतन्त्र कता जाँदैछ ?
मानिसहरु हिँडेकै छन् । होटल व्यवसाय चलेकै छ । घर बनाउनेले बनाएकै छन् । अर्थतन्त्र चलायमान नै देखिन्छ । तर, नेपालको अर्थतन्त्रमा सबै क्षेत्रको तथ्याङ्क स्पष्ट छैन । हामीले बैंकिङ्ग क्षेत्रको मात्र कुरा गरिरहेका छौं । ३२/३४ हजार सहकारीहरुमा हरेक दिन दुई/चार वटा सहकारी बन्द हुने र दुई/चार वटा खुल्ने क्रम त चलिरहेकै छ । अनौपचारिक क्षेत्रमा रहेको पैसा अनौपचारिक क्षेत्रमा नै छ । कोभिड पछाडि आफूले चाहेको बेलामा पैसा पाइँदैन की भनेर मानिसहरुले बैंकमा पैसा जम्मा गर्न पनि कम गरे र बैंकमा भएको पनि निकालेर घरमा नै राखे । यो अवस्था नेपालमा मात्र होइन संसारभरी नै रह्यो ।
यो अवस्थालाई समयमा नै करेक्सन गर्न सकिएन भने त्यो अतिकम विकसित र विकासशिल देशहरुमा नराम्रो असर गर्छ है भनेर अमेरिकको अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता जोसेफ ई. स्टिग्लिट्जले कोभिडको बेलामा भनेकै थिए । उनले भने जस्तै त्यतिखेर मानिसहरुले बैंकबाट पैसा निकालेर राखे कारोबार चलेन । गाह्रो भयो त्यसले गर्दा पैसा होल्डिङमा गयो ।
अन्तराष्ट्रिय डाटाअनुसार ३५ प्रतिशत पैसा अनौपचारिक क्षेत्रमा छ । तर, मेरो अनुमानमा त्योभन्दा ठूलो छ । त्यसैले गर्दा त्यो पैसा त्यहीँ घुमिराख्यो । बैंकमा राख्दा समयमा पाइन्न की भन्ने सोचले पनि काम गरेको जस्तो देखिन्छ । वित्तीय क्षेत्रको विश्वासले र सरकारको नीतिले विश्वास दिलाउन सक्यो भने विस्तारै अर्थतन्त्र लयमा फर्किन्छ ।
अन्तराष्ट्रिय डाटाअनुसार ३५ प्रतिशत पैसा अनौपचारिक क्षेत्रमा छ । तर, मेरो अनुमानमा त्योभन्दा ठूलो छ । त्यसैले गर्दा त्यो पैसा त्यहीँ घुमिराख्यो । बैंकमा राख्दा समयमा पाइन्न की भन्ने सोचले पनि काम गरेको जस्तो देखिन्छ । वित्तीय क्षेत्रको विश्वासले र सरकारको नीतिले विश्वास दिलाउन सक्यो भने विस्तारै अर्थतन्त्र लयमा फर्किन्छ ।
कसरी विश्वासको वातावरण बनाउने ?
म राष्ट्र बैंकमा जाँदा बैंक तथा वित्तीय संस्था डुबेका थिए । १८ वटा बैंक वित्तीय संस्था डुबेर एउटा समस्याग्रस्त विभाग हेर्ने भनेर केन्द्रीय बैंकले एउटा शाखा नै खोलेको थियो । त्यसमा २० अर्ब रूपैयाँ सर्वसाधारणको डुबेको थियो । जनताको बैंक वित्तीय संस्थाप्रतिको विश्वास अलिअलि कम हुँदै गएको बेलामा म गएँ । डुबेका बैंकहरु उकासिए । मर्ज भयो । पूँजी बृद्धि भयो । त्यसपछि बैंकहरु मजबुद भए र त्यसपछि भूकम्प गएको बेलमा पनि बैंकहरुमा ५० अर्ब रूपैयाँ नयाँ निक्षेप संकलन भयो । भूकम्प गएको बेलामा त बैंकमै पैसा पाइँदो रहेछ भन्ने मानिसहरुलाई अनुभुती भयो । त्यतिखेर एउटा पनि बैकिङ्ग कारोबार बन्द भएन ।
नेपालमा नकारात्मक कुरा बढी हुन्छन् । तपाईं हामीले सुने जस्तो सिद्धियो, भ्याइयो केही पनि भएको छैन । एमाले सरकारमा गयो । एमाले–माओवादीको सरकार थियो । सबै राम्रो भयो भनेर हल्ला भयो । पछि त्यो ब्रेकअप भयो र अर्को गठबन्धन बन्यो सबै बिग्रियो बर्बादै भयो भनेर हल्ला चल्यो । कोही सरकारमा गएको एक महिनामा नै अर्थतन्त्र सप्रिइहाल्ने र सरकार छोड्ने बित्तिकै बिग्रिहाल्ने भन्ने हुँदैन ।
एक वर्षको अवधिमा हाम्रो मुद्रा डलरको तुलनामा करिब १४ रूपैंयाँले अवमूल्यन भएको छ । यसको कारणले पनि समस्या आएको हो की ?
हाम्रो मुद्राको हैसियत भारतीय मुद्राको कारण भएको हो । हाम्रो अर्थतन्त्र आयतमुखी अर्थतन्त्र हो । यदि भारतीय मुद्रासँगको विनिमयदरको निर्भरता हटाउने हो भने हाम्रो असलियत देखिन्छ । हाम्रो वैदेशिक व्यापार राम्रो छैन । यो सबै भारतीय मुद्राको कारणले भएको हो । भारतीय मुद्रा बढ्यो भने बढ्ने र घट्यो भने घट्ने हो । खास हिसाबै गर्ने खालको हाम्रो निर्यात छैन । तपाईंले भनेजस्तो मुद्राको भाउ घट्दा वैदेशिक व्यापारमा केही घाटा स्वभाविक हुन्छ ।
यो कृत्रिम संकट नै हो । मानिसहरुले सबै गतिविधि गरेकै छन् । व्यापार, व्यवसाय, उद्योगधन्दा चलेकै छन् । केही सुस्तता हुनसक्छ, तर भनिएजस्तो छैन । आज हल्ला गरेर आतंक फैलाउने अनि कारबाही पनि नगर्ने अवस्थाले पनि अर्थतन्त्रमा अलि अलि संकट जस्तो देखिएको हो । एउटा समूह नै विगतदखि नै आतंक सिर्जना गरेर फाइदा लिने समूह छ । जो कुनै पनि उद्योगी व्यवसायीको आवरणमा छ । त्यसलाई सरकारले नीति बनाएर कारबाहीको दायरामा ल्याउनु पर्दछ ।
तपाईंले भनेजस्तो हाम्रो अर्थतन्त्रको संरचना विगतमा जे थियो, आज पनि त्यही छ । आर्थिक गतिविधि उस्तै छन् । जसरी हाम्रो अर्थतन्त्र ‘सकियो’ भनेर प्रचार भएको छ, यो विलकुल गलत हो ?
एकदम नै सही कुरा गर्नुभयो । यो कृत्रिम संकट नै हो । मानिसहरुले सबै गतिविधि गरेकै छन् । व्यापार, व्यवसाय, उद्योगधन्दा चलेकै छन् । केही सुस्तता हुनसक्छ, तर भनिएजस्तो छैन । आज हल्ला गरेर आतंक फैलाउने अनि कारबाही पनि नगर्ने अवस्थाले पनि अर्थतन्त्रमा अलि अलि संकट जस्तो देखिएको हो । एउटा समूह नै विगतदखि नै आतंक सिर्जना गरेर फाइदा लिने समूह छ । जो कुनै पनि उद्योगी व्यवसायीको आवरणमा छ । त्यसलाई सरकारले नीति बनाएर कारबाहीको दायरामा ल्याउनु पर्दछ ।
बैंकमा भएको पैसा जनताको पैसा हो । बैंकहरु मात्र मध्यस्तकर्ताको भुमिकामा छन् । जनताबाट उठाएको पैसालाई कुनै पनि नाममा अरुलाई मिनाहा गर्नु हुँदैन । संसारमा कहीँ पनि दिएको ऋणलाई मिनाहा भन्ने हुँदैन । बेलाबेलामा नेपालमा सरकारले ऋणीलाई कर्जा मिनाहा गर्दा सरकारी लगानी भएका बैंकहरु संकटमा धकेलिएका छन् ।
सरकारले आफ्ना नीतिहरुलाई समयानुसार करेक्सन गर्दै जानुपर्छ । संकटमा लिएका नीतिहरुलाई सहजमा पनि राखि राख्नु हुँदैन । अर्थतन्त्रका सबै क्षेत्रहरुलाई विश्वासमा लिएर अगाडी बढ्दा अर्थतन्त्रलाई एउटा गति प्रदान गर्न सकिन्छ । जुन अहिले अभाव देखिन्छ ।
याे पनि पढ्नुहाेस्…
‘केही राजनीतिक शक्तिले अर्थतन्त्रबारे गलत हौवा फिँजाए’