
पूर्वगभर्नर तथा अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री मुलुकको अर्थतन्त्र सामान्यकृत अवस्थामा पुगिसकेको बताउँछन् । तथापी, देखिएका केही समस्या ‘गलत प्रचारबाजी’को कारण भइरहेको उनको भनाई छ । केही राजनीतिक शक्ति नियतजन्यरूपमै अर्थतन्त्रलाई बिगार्न लागिरहेको निष्कर्ष क्षेत्रीको छ ।
“हाम्रा आर्थिक सूचक हल्ला फिँजाइए जस्तो बिग्रियो, भत्कियो, हामी श्रीलंकाको बाटो लाग्यौं भन्ने खालको कहिँ कतै देखिन्न”, क्षेत्रीले हामीसँगको कुराकानीमा भनेका छन्, “कतिपय प्रवृत्तिगतरूपमै, आफुँ शासनबाहिर हुने वित्तिकै नकारात्मक ह्वीम सिर्जना गराउने खालका छन्, अहिलेको समस्या त्यस्तो गलत ह्वीमको कारण आएको हो ।”
तथापी, सरकारले यस्तो गलत ह्वीमलाई चिरेर अगाडि बढ्नुपर्ने सुझाब क्षेत्रीको छ । सँगै अहिलेको अवस्थालाई मजबुद बनाउन व्यवस्थित कार्यक्रम नै ल्याउनुपर्ने उनी बताउँछन् । बजेट निर्माणको सुरुवात भइसकेको सन्दर्भमा उनी ‘प्रतिफलका आधारमा योजना वर्गीकरण’ हुनुपर्ने सुझाउँछन् ।
सम्रग आर्थिक अवस्थाबारे केन्द्रीत रही पूर्वगभर्नरसमेत रहेका अर्थविद् क्षेत्रीसँग संसार न्यूजका लागि राजेन्द्र बराल र सन्देश अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
अहिलेको अर्थतन्त्रमा देखिएको समस्यालाई कसरी हेर्नुभएको छ ? यो खास कस्तो समस्या हो ?
अहिले व्यवसायीहरुको गुनासो छ– मान्छेको हातमा पैसा छैन, आम्दानी गर्ने अवस्था छैन, समग्र व्यापारमा समस्या आयो ! यता उत्पादकहरुले भनिरहेका छन्– मार्केटमा सामान जान्छ तर, पैसा आउँदैन, हामीलाई उत्पादन गर्न गाह्रो प¥यो ! भौतिकरूपले हेर्दा, अहिले केही व्यवसायीहरु विस्थापित भएको देखिन्छ । यी सबै कुराले साँच्चै नै अर्थतन्त्रमा मन्दी आएको त होइन भन्ने संकेतहरु देखिन्छ । तर, अर्थतन्त्रका समष्टि अवयवहरु हेर्दा थप बलियो हुँदै गएको देखिन्छ । अघिल्लो वर्ष घाटामा रहेको शोधनान्तर स्थिति अहिले नाफामा छ । व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा निकै घटेको छ । विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्र्ण क्षेत्रको रूपमा पर्यटनलाई लिन मिल्छ । पर्यटन क्षेत्रमा अहिले निकै उत्साह देखिन्छ ।
सँगै हाम्रो बचतको अवस्था पनि मजबुद हुँदै गएको छ । यसअघि छ महिनालाई धान्न गाह्रो भयो भनिएको सञ्चिति अहिले नौ महिनाभन्दा बढी समयको आयातलाई धान्ने खालको देखिन्छ ।
अर्थतन्त्रमा देखिएको समस्यामा राजनीतिक ‘इन्टेन्सन’ जोडिएको देखिन्छ । कतिपय प्रवृत्तिगत रूपमै, आफुँ शासनबाहिर हुने वित्तिकै नकारात्मक ह्वीम सिर्जना गराउने खालका छन् । सबै बिग्रियो, भत्कियो, सकियो भन्ने खालको प्रचार गर्दछन् । तर, हाम्रा आर्थिक सूचक उनीहरुले हल्ला फिँजाए जस्तो बिग्रियो, भत्कियो, हामी श्रीलंकाको बाटो लाग्यौं भन्ने खालको कहिँ कतै देखिन्न । हामी त थप सुद्धढ भएजस्तो देखिन्छ ।
यहाँ मूल्यवृद्धि सरकारको केन्द्रीय बैंकले लक्ष्य राखेको सात प्रतिशतभन्दा भने बढी छ । तथापी, यसमा आन्तरिक फ्याक्टर भने निर्णायक होइन । युक्रेन युद्धदेखि पूर्वी एसियामा देखिएको तनाव पनि मूल्यवृद्धि हुनुमा जोडिन आउँछ । यसलाई देखाएर अर्थतन्त्र समस्यामा भन्न मिल्दैन ।
अर्थतन्त्रमा देखिएको समस्यामा राजनीतिक ‘इन्टेन्सन’ जोडिएको देखिन्छ । कतिपय प्रवृत्तिगत रूपमै, आफुँ शासनबाहिर हुने वित्तिकै नकारात्मक ह्वीम सिर्जना गराउने खालका छन् । सबै बिग्रियो, भत्कियो, सकियो भन्ने खालको प्रचार गर्दछन् । तर, हाम्रा आर्थिक सूचक उनीहरुले हल्ला फिँजाए जस्तो बिग्रियो, भत्कियो, हामी श्रीलंकाको बाटो लाग्यौं भन्ने खालको कहिँ कतै देखिन्न । हामी त थप सुद्धढ भएजस्तो देखिन्छ ।
भनेपछि अहिलेको अवस्थालाई हेर्दा, हामी सकारात्मक दिशातिर गयौं भन्न मिल्छ ?
अहिले जसरी कतिपयले श्रीलंका हुँदैछ, पाकिस्तान हुँदैछ भनेर भाष्य बनाएका छन्, त्यो पूर्णत गलत छ । त्यस्ताको पछाडि मुलुक लाग्नु हुँदैन । तथापी, हामी तङ्र्गिन थाल्यौं भनेर आँखा चिम्लियौं भने संकट आउन बेर पनि लाग्दैन । हाम्रो जुन खालको अर्थतन्त्रको संरचना छ, त्यसको कारण जुनसुकै बेला जोखिम निम्तिन सक्छ । हामी अहिलेको अवस्थामा ढुक्क भएर अगाडि बढ्ने होइन, यही स्प्रीटमा अझै सुधार गर्ने गरी गतिविधि बढायौं भने त्यस्तो डर मान्नु पर्दैन ।
सन् २००८ र २००९ थाइल्याण्डमा विदेशीले लगानी फर्ता लैजाँदा निकै समस्या आएको थियो । जसलाई भरथेग गर्न निकै गाह्रो परेको थियो । त्यो समस्या एसियाभरि नै फैलिएको थियो । अहिले ठ्याक्कै थाइल्याण्डकै अवस्था आउँछ कि भन्ने चिन्ता नेपालमा पनि देखिएको थियो । तर, त्यस्तो भएन । विदेशी लगानीकर्ताले हामीलाई विश्वास गरेको देखियो ।
हाम्रो अर्थतन्त्रमा बाह्य सहयोग तथा लगानी पनि छ । अहिले जुन खालको अवस्था बन्यो, बाह्य लगानीकर्ताको मनस्थिति कस्तो देख्नुहुन्छ ?
कतिपय बैंकहरुले विदेशी लगानी भित्र्याएका छन् । कतिपय व्यवसायीक क्षेत्रमा विदेशी लगानी छ । यदि संकट आयो भने त्यस्ता लगानी फिर्ता हुन सक्छन् । लगानी फिर्ता भयो भने थप समस्या आउन सक्छ । सन् २००८ र २००९ थाइल्याण्डमा विदेशीले लगानी फर्ता लैजाँदा निकै समस्या आएको थियो । जसलाई भरथेग गर्न निकै गाह्रो परेको थियो । त्यो समस्या एसियाभरि नै फैलिएको थियो ।
अहिले ठ्याक्कै थाइल्याण्डकै अवस्था आउँछ कि भन्ने चिन्ता नेपालमा पनि देखिएको थियो । तर, त्यस्तो भएन । विदेशी लगानीकर्ताले हामीलाई विश्वास गरेको देखियो । अहिले सञ्चिति बढ्दै जानुले बाह्य लगानीकर्ताहरु थप उत्साहित भएको देखिन्छ । योबीचमा कतिपय बाह्य लगानी भित्रिएको छ, त्यसले हामी सामान्य अवस्थामै छौं है भन्ने म्यासेज पनि बाहिर गएको छ ।
मुलुकको अर्थतन्त्र कस्तो छ भन्ने सन्दर्भलाई केलाउँला, राष्ट्रिय ऋणलाई पनि ध्यान दिनुपर्छ । अहिले प्रतिव्यक्ति जुन ऋणको दर छ, त्यो बढेको देखिन्छ । यसलाई कसरी बुझ्ने ?
जुन स्तरमा हाम्रो ऋण छ, त्यो खास आतिनुपर्ने खालको विषय होइन । अहिले जसरी ऋण बढेको देखिएको छ, त्यो हाम्रो मुद्राको मूल्य घट्दा भएको हो । डलरको तुलनामा हाम्रो मुद्राको क्रयशक्ति घट्दा यो समस्या देखिएको हो ।
हाम्रो मुलुकको आर्थिक संरचनामा विप्रेषणको पनि भूमिका महत्वपूर्ण छ । अहिले जसरी डलरको मूल्य बढ्दा ऋणको दायित्व बढेको छ, त्यसैगरी विप्रेषण पनि बढेको छ । त्यसकारण हामी बढेको ऋणलाई बढेको विप्रेषणसँग पनि जोडेर हेर्न सक्छौं ।
तथापी, हाम्रो चलन नकारात्मक मात्रै देखाउने, सकारात्मक पाटोलाई छोप्ने शैली छ । त्यसले पनि समस्या पारेको हो ।
अहिले सामाजिक सुरक्षाको शीर्षकमा जुन खालको खर्च बढेको छ, यसले पनि केही समस्या सिर्जना गराएको देखिन्छ । प्रत्येक सरकार फेरिँदाविच्छे रकम बढाउने र उमेर घटाउने होडबाजी हुँदै आएको छ । अहिले ७० बाट ६८ मा झार्दा झण्डै–झण्डै २५ देखि ३० अर्ब दायित्व बढेको छ । त्यसले पनि ऋण बढाउन सहयोग गरेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा केही समस्या देखिएका छन् । खासगरी कतिपय सहकारी र लघुवित्तहरु बन्द हुने अवस्थामा देखिएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
अहिले वाणिज्य तथा विकास बैंकहरुको अवस्थालाई हेर्दा, सामान्य जस्तै देखिन्छ । बैंकहरुमा निक्षेप संकलन बढीरहेको छ भने लगानीयोग्य रकम पनि बढेको छ । विगतमा जस्तो बैंकहरुसँग लगानी योग्य रकम नै भएन भन्ने अवस्था अहिले छैन । तर, विगतको प्रभाव केही लगानी प्रवाहमा भने समस्या भएको हो कि भन्ने देखिन्छ । जुन विकास निर्माणदेखि विभिन्न गतिविधिहरुले प्रभाव पार्दछन् । जुन खर्च बढ्दा समस्या समाधान हुन्छ ।
यहाँ भनिएजस्तै, अहिले सहकारी र माइक्रोफाइन्स क्षेत्रमा भने केही समस्या देखिएको छ । यो समस्या आफैं निर्मित भन्दा पनि बढी कृतिम खालको छ । आज सहकारी डुब्यो, बर्बाद भयो भनेर हल्ला फिँजाइएको छ । हल्लाका कारण लगानीकर्ताले रकम झिक्दा थप समस्या निर्माण भएको हो ।
यता, लघुवित्तविरुद्ध अभियान नै चलाइएको छ । लघुवित्त बन्दै गराउनुपर्छ भनेर जसरी अभियान छेडिएको छ, यसले धेरै समस्या बनाएको देखिन्छ । तर, सरकारले यसतर्फ उचित ध्यान दिएको छैन । वित्तीय संस्थाविरुद्ध छेडिएको गलत अभियानलाई चाँडै रोक्न ध्यान दिइएन भने थप समस्या आउन सक्छ । यसले समग्र आर्थिक सूचकहरुलाई पनि प्रभावित पार्न सक्छ ।
अब परियोजनाहरुको वर्गीकरण गरिनु आवश्यक छ । बजेट निर्माण गर्दै गर्दा सरकारले मुलुकमा छिटो प्रतिफल दिने परियोजनालाई छुट्याएर प्राथमिकता दिने नीति लिनुपर्छ । अहिले कतिपय अति कम महत्वका परियोजनालाई पनि गौरवको आयोजना भन्दै बजेट बाँडिएको छ । यतातर्फ ध्यान नदिँदा बजेट खर्च हुने तर, प्रतिफल नआउने अवस्था छ । अर्थतन्त्रमा देखिएका कतिपय समस्या लगानीको प्रतिफल नआउँदाको कारण हो ।
अन्तिममा, अहिलेको समग्र माहोललाई थप सकारात्मक बनाउन सरकारको भूमिका के–कस्तो हुनुपर्छ ? तपाईंको सुझाब के छ ?
हामी एक पटक निकै त्राहिमाम्को अवस्थाबाट गुर्जियौं । आयात प्रतिबन्ध लगाउने तहसम्म पुग्यौं । जबकी विश्व व्यापार संगठनका नियमअनुसार त्यस्तो गर्न पाइन्न । त्यस्तो अवस्थामा पुगेर पनि हामी पुरानै अवस्थातर्फ फर्किँदै छौं । सुधारन्मूख अवस्थामा पुगेको बेला सरकार नेतृत्वले गति छाड्न भएन । जथाभावी खर्च गर्नु भएन । अनावश्यक विदेश भ्रमण रोक्नुपर्यो । मितव्ययीताको कुरामा ध्यान दिनुपर्यो । प्रशासनयन्त्रलाई पनि सक्रिय बनाउन ध्यान दिनुपर्यो ।
अहिले पुँजीगत खर्च बढ्न सकेको छैन । पुँजीगत खर्च नबढ्दा धेरै कुरामा त्यसको प्रभाव पर्दछ । रकम फ्रिज हुने जुन अवस्था छ, त्यसलाई सम्बोधन गर्न अति आवश्यक छ । सँगै अब परियोजनाहरुको वर्गीकरण गरिनु आवश्यक छ । बजेट निर्माण गर्दै गर्दा सरकारले मुलुकमा छिटो प्रतिफल दिने परियोजनालाई छुट्याएर प्राथमिकता दिने नीति लिनुपर्छ । अहिले कतिपय अति कम महत्वका परियोजनालाई पनि गौरवको आयोजना भन्दै बजेट बाँडिएको छ । यतातर्फ ध्यान नदिँदा बजेट खर्च हुने तर, प्रतिफल नआउने अवस्था छ । अर्थतन्त्रमा देखिएका कतिपय समस्या लगानीको प्रतिफल नआउँदाको कारण हो । त्यतातर्फ हामी सबैको ध्यान जानुपर्छ ।