काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । संसदमा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन उनीविरुद्ध अकुत सम्पत्तिको छानबिनका लागि भन्दै उजुरी परेको हो ।
सर्लाहीका विकास ठाकुरले उनको सम्पत्तिको विवरणसहित अख्तियारमा उजुरी हालेका हुन् । सिंहविरुद्ध उजुरी हाल्ने ठाकुर नेपाली कांग्रेसका सर्लाहीका नेता हुन् । उनले उजुरीमा सिंहको सम्पत्ति छानबिन हुनुपर्ने माग राखेका छन् ।
उजुरीमा राजनीतिबाहेक अन्य पेशा र व्यवसाय नभएका सिंहको सम्पत्ति अनपेक्षितरुपका बढेको उल्लेख गरिएको छ। पैत्रिक सम्पत्ति जम्मा डेढ विघा जमिन र एउटा मोटरसाइकल भएका उनले राजनीतिमा आएपछि करोडौं कमाएको उक्त उजुरीमा उल्लेख छ ।
उजुरीमा उनले नेपाली नागरिकको हैसियतले नेपालको संविधानको धारा २३९ को उपधारा १ र ३ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ बमोजिमको क्षेत्राधिकार रहेको व्यवस्थाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को परिच्छेद ४ को दफा १३ (१) बमोजिम उजुरी दिएको दाबीगरेका छन् ।
सोमबार नै संसदमा बोल्न नपाएको भन्दै सिंहले वस्त्र उतारेका थिए ।
यस्तो छ उजुरी
वि.सं.२०८० वैशाख २५ सोमवार १५:५८ मा प्रकाशित






























