काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दलका भएपनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् ।
उनले उक्त प्रकरणका विषयमा निष्पक्ष रुपमा छानविन अगाडि बढाउनु पर्ने बताउँदै भनेका छन्–नेपालीलाई भूटानी शरणार्थी बनाउने काममा संलग्नहरुमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास् नहोस् ।’
यसलाई कुनैपनि बहानामा राजनीतिकरण नगर्न आग्रह गर्दै सिंहले यसमा संलग्न जोसुकै र जुनसुकै दलको भएपनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
यस्ता घटनाले राजनीतिमाथि थुप्रै प्रश्न उठाएको बताउँदै सिंहले भनेका छन्, ‘कानुनको सर्वमान्य सिद्धान्त हो–दोषीहरु नछुटुन्, निर्दोषहरु नपरुन् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निक्र्यौल होस् ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे लगायतका १२ जना पक्राउ परिसकेका छन् भने उक्त प्रकरणमा संलग्न रहेको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएको छ । उनलाई पार्टीले निलम्बन समेत गरिसकेको छ । उनका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् ।
वि.सं.२०८० वैशाख २९ शुक्रवार १२:४६ मा प्रकाशित






























