
बैशाख । बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ ।
आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।
एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेका थिए ।
विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदातापछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथामाथि चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो ।
त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको हो ।
द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ । बहुपति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण संपन्न भएको हो ।
संभवत बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कंपनीले जानकारी दिएको छ ।
डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लाको भेषभूषामा बहुपति प्रथालाई टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।
चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।
शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाको निर्देशन तथा सुसिल अधिकारी र नमराज घिमिरेले छायांकन गरेका छन् भने सम्पादन तारा किम्भे थापा, संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र रोहित देउबा छन् । साथै रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वरमा दुई गीत समाबेस रहेको छ भने पार्स्व संगीत सन्जिब सुब्बाको रहेको छ । यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।
यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।
बाबुलाल लामा कार्यकारी निर्माता रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।
यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका छन् । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।