काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार उनलाई बुढानीलकण्ठस्थित पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीले जनाएअनुसार पासिकोटस्थित नारायण पौडेलको घरमा लुकेर रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
रायमाझी आफुविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । प्रहरीले उनीविरुद्ध वैशाख २०मा पक्राउ पुर्जी जारी गराएको थियो ।
अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । फरार अवस्थामै रायमाझीले संसद सचिवालयलाई बिरामी भएको पत्र पठाएका थिए ।
उनको पत्रपछि प्रहरीले थप खोजीलाई सक्रियतापूर्वक अगाडि बढाएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए । पक्राउ पुर्जी जारी भएमध्येका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।
वि.सं.२०८० वैशाख ३१ आइतवार २२:२९ मा प्रकाशित






























