काठमाडौं । इन्टर्नेट सेवा प्रदायक कम्पनीहरुले आपसी मिलोमतोमा इन्टर्नेट सेवाको शुल्क बढाएकोप्रति नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आपसी मिलोमतोमा शुल्क बढाउने गरी सहमति गरिएको भन्ने समाचारहरु सार्वजनिक भइरहेका बेला प्राधिकरणले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
प्राधिकरणले इन्टर्नेट सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टर्नेट सेवाको शुल्क/महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने व्यहोरा समेत सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
‘नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकसँग लिने शुल्क/महशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहे बमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई शुल्क/महशुलदर स्वीकृत गराएर मात्र लागू गर्न पटक पटक पत्राचार तथा सार्वजनिक सूचना प्रकाशन गरिदै आएको छ ।’ प्राधिकरणले भनेको छ ।
दूरसञ्चार सेवाको शुल्क÷महशुलदर स्वीकृत गर्ने विद्यमान् कानूनी व्यवस्था बमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महशुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धा समेतलाई मध्य नजर गरिदै आएको प्राधिकरणले जनाएको छ ।
‘उक्त व्यवस्था अनुसार प्राधिकरणबाट कुनै पनि इन्टर्नेट सेवाप्रदायकले स्वीकृत शुल्क/महशुलदर भन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टर्नेट सेवाको विद्यमान् स्वीकृत शुल्म/हशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्क÷महशुलदर बढाउन इन्टर्नेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पस्ट हुन सम्बन्धित लाइ जानकारी गराइन्छ ।’ प्राधिकरणले भनेको छ ।
कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदर भन्दा बढी शुल्क/महशुलदर लिने गरी बिल/बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराईदिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।
वि.सं.२०८० जेठ २ मंगलवार ११:२६ मा प्रकाशित





























