
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वसांसद एवम् कांग्रेस नेता आङ्टावा शेर्पाले कार्यालय नै खोलेर चलाएको पाइएको छ । नक्कली शरणार्थीको लागि फाराम भर्न र पैसा असुल्न उनले ललितपुरका विभिन्न ठाउँमा कार्यालय खोलेको भेटिएको हो ।
प्रहरीले उनले त्यसरी कार्यालय नै खोलेर नक्कली शरणार्थी बनाउन फाराम भर्ने र पैसा असुल्ने गरेको भिडियो क्लीपहरु पनि प्राप्त गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सञ्चारमाध्यमलाई बताएअनुसार भिडियो प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइएको छ ।
उनले नक्कली शरणार्थी बनाउन सुरुमा ६ लाखदेखि २० लाखसम्मका दरले पैसा उठाएको पाइएको छ । प्रहरीले कार्यालय सञ्चालनमा संलग्न अन्यको पनि खोजी सुरु गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरु पक्राउ परिरहेका बेला शेर्पा पक्राउ परेका आरोपितलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइदिन लबिङमा थिए । खाँणको पक्षमा लबिङमा देखिएका उनी आफ्नै नाममा पक्राउ पुर्जी जारी भएपछि भने फरार भएका थिए । तर, शेर्पा एकाएक सोमबार साँझ आफैं प्रहरी परिसरमा हाजिर भएका थिए ।
जब पीडितले उनको कार्यालयको भिडियो पठाए, त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
आवेदकलाई विश्वासमा लिन पूर्वगृहसचिवको नियमित उपस्थिति
ठगीको निम्ति खोलिएको कार्यालयमा आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतको बेग्ला–बेग्लै चेम्बर रहेको खुलेको छ । पाण्डे नक्कली शरणार्थीका आवेदकलाई विश्वासमा लिन नियमित जसो कार्यालय पुग्ने गरेको पनि तथ्य खुलेको छ ।
नक्कली शरणार्थी बनाउन आवेदकको रेटिनासहितको फोटो, डिजिटल फिंगर प्रिन्ट र फाराम भराउन लगाइन्थ्यो । प्रत्येकसँग ६ लाखको दरले सुरुमै रकम लिने गरिन्थ्यो । पैसा भुक्तानी गर्ने अधिकांशले शेर्पाकै नाममा चेक काटिदिएको पनि तथ्य प्रहरीले भेटाएको छ ।
आवेदकसँग चरण–चरणमा पैसा उठाउन बेग्ला–बेग्लै स्थानमा कार्यालय खोलिएको पनि भेटिएको छ । शेर्पा समूहले पहिलो चरणमा पुल्चोक, दोस्रो र तेस्रो चरणमा सानेपामा कार्यालय खोलेको तथ्यहरु बाहिर आएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलगायत दर्जन बढी पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा फरार छन् ।