काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परेका छन् । प्रहरीले यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, टङ्क गुरुङ र सानु भण्डारी पक्राउ गरेकाे थियाे । तीन जनाकाे प्रारम्भिक बयानपछि प्रहरीले चैत १५ मा सागर राईलाई पक्राउ गरेकाे थियाे ।
दुलाल, गुरूङ, भण्डारी र राईकाे पक्राउपछि याे प्रकरणकाे लहराे तानिन पुग्याे । जससँगै प्रहरीले क्रमशः अन्यलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले याे प्रकरणमा हालसम्म १५ जनालाई पक्राउ गरिसकेकाे छ । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । यस्तै, प्रहरीले कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ गरेकाे छ ।
यस्तै, प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, एमाले नेता रायमाझीका छाेरा सन्दीप रायमाझी, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् । बिहीबार प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि आरोपितको बयानअनुसार पक्राउ गरेकाे छ ।
वि.सं.२०८० जेठ ४ बिहीवार १३:२२ मा प्रकाशित






























