ओम प्रसाद थापा काउचा,बेलायत । बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा निर्वाचित भएर नेपाली मूलकी नीना (मञ्जु) गुरुङले इतिहास रचेकी छन् ।
स्थानीय निर्वाचनबाट काउन्सिलर बनेको १० दिनपछि नीना सोमबार भएको मतदानमा मेयर पदमा निर्वाचित भएकी हुन् ।
मे ४ तारिखमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेकी मन्जुले १२११ मत ल्याएर काउन्सिलर पदमा निर्वाचित भएकी थिईन् ।
मन्जु बेलायतमा रहेका गोर्खा समुदायबाट मेयर बन्ने पहिलो हुन् भने नेपाली मूलकी दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर बनेकी थिइन् ।
गोर्खाज् डटकमकी संस्थापक समेत रहेकी मन्जु गोर्खा नेप्लिज कम्युनिटी मिडवेकी पूर्वअध्यक्ष समेत हुन् ।
बेलायतको लेबर पार्टीबाट मेयर बन्ने पहिलो नेपाली महिला हुन् मन्जु गुरुङ । यसअघि सोहि पार्टीबाट गोर्खा समुदायका बिष्णु बहादुर गुरुङ लन्डन बरो अफ हान्स्लोको मेयर बनेका थिए ।
विजयी भएपछि नीनाले सकारात्मक परिवर्तन, नेतृत्व र समुदायप्रतिको अथक् सेवा गर्ने पार्टीको मन्त्रलाई मूर्तरूप दिने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन– ‘मेयरको रूपमा मेडवेका जनताको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हुनेछ र बलियो, प्रभावकारी, पहुँचयोग्य, सम्मानजनक, व्यावसायिक र भरपर्दो हुने वाचा गर्दछु ।’
वि.सं.२०८० जेठ ४ बिहीवार १३:२१ मा प्रकाशित






























