काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पैसा ओसार्न हज समितिको गाडी प्रयोग गर्ने गरेको तथ्य खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएअनुसार पक्राउ परेका आरोपितको बयानअनुसार मियाँलाई पक्राउ गरिएको हो ।
गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी नक्कली शरणार्थी प्रकरणमा पैसा बोक्न प्रयोग गर्ने गरेको तथ्य खुलेको थियो । जुन मियाँले प्रयोग गर्ने गर्दथे ।
गृहमन्त्रालयअन्तर्गको नेपाल हज समितिमा मियाँलाई तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । गृहमन्त्रीबाट थापा बाहिरिएपनि त्यसपछिका गृहमन्त्री बनेका बालकृष्ण खाँणले पनि उनको कार्यवधि थपिदिएका थिए । सरकार फेरिँदै पटक समितिको अध्यक्ष फेरिने गरेको भएपनि उनको कार्यकाल थपिँदै गएको थियो ।
वि.सं.२०८० जेठ ४ बिहीवार १३:०७ मा प्रकाशित






























