back
CTIZAN AD

किन बढ्यो बैंकहरूको खराब कर्जा ?

वि.सं.२०८० जेठ ५ शुक्रवार

963 

shares

नेपाली ब्याङ्क तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको भए पनि “अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको” केन्द्रीय ब्याङ्कका अधिकारी र वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपाली अर्थतन्त्रमा देखिएको “समग्र शिथिलता”का कारण वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएको हो।

राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार त्यसमा तत्कालै सुधार आउने सम्भावना न्यून रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्ममा खराब कर्जाको प्रतिशत केही बढ्न पनि सक्ने देखिन्छ। तर यो अवस्था खासै “संवेदनशील तथा डराइहाल्नु पर्ने खालको” नभएको र हालै गरिएको मौद्रिक नीतिको समीक्षामार्फत् दिइएका कतिपय सहुलियतले त्यस्तो अवस्थामा सुधार आउने अपेक्षा गरिएको अधिकारीहरूको भनाइ छ।

खराब कर्जाको अवस्था

नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य ब्याङ्कहरूको औसत खराब कर्जा ३.२३ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा वाणिज्य ब्याङ्कहरूको औसत खराब कर्जा १.३२ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षमा वाणिज्य ब्याङ्कसहित सबै खाले वित्तीय संस्थाहरूको समग्र खराब कर्जा भने ३.३४ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा त्यस्तो खराब कर्जाको प्रतिशत १.४४ मात्र थियो।

अर्थतन्त्रको अहिलेको अवस्था हेर्दा यस्तो खराब कर्जा आगामी दिनमा केही मात्रामा बढ्नसक्ने नेपाल राष्ट्र ब्याङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन्। उनले भने, “अझै बढ्नसक्ने सम्भावना छ किनभने अर्थतन्त्र दबावमा छ तर केही समयपछि धेरै दबाव नपर्ला किनकि अर्थतन्त्र सुधारोन्मुख पनि देखिएको छ।”

हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि देशको अर्थतन्त्रलाई थप खराब हुन नदिन चालेका कदमहरूको प्रशंसा गर्दै ब्याङ्किङ सम्पत्तिको गुणस्तरप्रति प्रश्न उठाएको थियो।

मे महिनाको पहिलो साता जारी गरेको एउटा प्रतिवेदनसम्बन्धी वक्तव्यमा उसले भनेको थियो, “ब्याङ्कको पुँजी पर्याप्तता अनुपात नियामकले तोकेको न्यूनतम मापदण्डभन्दा माथि भए पनि उच्च कर्जा ब्याजदरले ऋणीहरूको चुक्ता गर्ने क्षमतालाई कम गर्ने हुँदा ब्याङ्किङ सम्पत्तिको गुणस्तर खस्किएको छ।”

खराब कर्जा बढ्नुको कारण

अधिकारीहरू तथा वित्तीय क्षेत्रका जानकारले खराब कर्जा बढ्नुको कारण अहिलेको ‘समग्र अर्थतन्त्र’को अवस्था भएको बताएका छन्। यद्यपि त्यसमा केही मुख्य कुराहरूले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ।

राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, “अर्थतन्त्रमा परेको बाह्य दबाव कम गर्ने क्रममा ब्याजदर बढेको हो। कारोबारमा शिथिलता आउँदा र भुक्तानीमा कमी हुँदा त्यसले पनि यस्तो कर्जा बढेको हो।”

उनका भनाइमा कोभिडकाल तथा त्यस लगत्तै कतिपयले “आवश्यकताभन्दा बढी ऋण लिएको” तर त्यसलाई चुक्ता गर्न नसकेको अर्को कारणले पनि अहिलेको अवस्था आएको हो।

उनका भनाइमा तेस्रो कारण केही महिनादेखि राजधानीलगायत देशका केही भागमा ब्याङ्क कर्जा तथा त्यस विरुद्ध भइरहेका आन्दोलन पनि हुनसक्ने देखिएको छ। उनले भने, “त्यस्ता आन्दोलनका कारण कतिपयले ब्याङ्कको ऋण नतिर्दा पनि हुन्छ भनेर समयमा नतिरेको हुनसक्छ तर त्यस्तो त हुने होइन।”

एकजना पूर्व ब्याङ्कर तथा वित्तीय क्षेत्रका जानकार परशुराम कुँवर क्षेत्रीका अनुसार समग्र अर्थतन्त्र खस्केर व्यापार/व्यवसायमा समस्या आएकाले खराब कर्जा पनि बढेको हो। “अहिले व्यापार/व्यवसाय छैन। त्यसले गर्दा ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि छैन,” उनले भने।

“बजारको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था आउन भूमिका खेलेको जस्तो लाग्छ।” उनका बुझाइमा ब्याङ्कविरोधी पछिल्ला आन्दोलनहरूले ब्याङ्कहरूको ‘आत्मविश्वास’मा पनि कमी आएको देखिएको छ।

कतिपय जानकारहरू कोभिडकाल र त्यस लगत्तै प्रवाह भएको कर्जामध्ये अधिकांश शेअर र घरजग्गामा गएको र ती दुवै क्षेत्रमा अहिले मन्दी भएकाले पनि खराब कर्जा बढेको हुनसक्ने बताउँछन्।

निक्षेपकर्तालाई असर पर्छ ?

नेपाल ब्याङ्कर्स सङ्घले अहिले लगानीकर्ताहरूले पाउने प्रतिफल समेत घटेको जनाएको विवरण पनि सार्वजनिक भएको छ। आर्थिक अभियान दैनिकले बिहीवार लेखेअनुसार त्यस्तो प्रतिफल घट्नुका विभिन्न कारणमध्ये एउटा खराब कर्जा बढ्नु पनि हो।

तर सामान्य रूपमा खराब कर्जा बढ्दैमा निक्षेपकर्तालाई खासै असर नपर्ने नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। उनले भने, “अहिले बढेको खराब कर्जा धेरै होइन। हाम्रा छिमेकी देशहरूको तुलनामा त उनीहरूको भन्दा आधाभन्दा पनि कम हो।”

“यसले निक्षेपकर्तालाई खासै असर पर्दैन। निक्षेपकर्ता डराउनु पर्दैन।”

‘आत्तिनु पर्दैन’

राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार नेपालमा पाँच प्रतिशतभन्दा कम खराब कर्जालाई खासै संवेदनशील मानिँदैन। त्यसको कारणबारे श्रेष्ठ भन्छन्, “जस्तो ब्याङ्कले १०० रुपैयाँ ऋण दिएको छ भने उसले ११ रुपैयाँ त्यो खराब कर्जामा जान्छ कि भनेर राखेकै हुन्छ। अब ५ रुपैयाँ खराब कर्जा भयो भने त्यसैबाट पूर्ति भइहाल्यो।”

“खराब कर्जा बढ्नु राम्रो त होइन तर त्यस्तो संवेदनशील अवस्था पनि होइन।” क्षेत्रीले पनि अहिलेको अवस्था खासै ‘आत्तिनु पर्ने खालको’ नभएको बताए।

उनले भने, “अहिलेसम्म त आत्तिनु पर्दैन, हाम्रो खराब कर्जा खासै धेरै बढेको छैन। यस्तै अवस्था लामो समयसम्म तन्कियो भने चाहिँ अवस्था बिग्रन सक्छ।”

खराब कर्जा कम गर्ने प्रयास

नेपाल राष्ट्र ब्याङ्कले लिएको पछिल्लो नीतिले खराब कर्जालाई पनि कम गर्न सक्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ। उनले भने, “मौद्रिक नीतिको समीक्षामार्फत् हामीले साना ऋण लिनेहरूलाई सहुलियत दिएका छौँ। त्यसले यस्तो कर्जाको अनुपात घटाउने अपेक्षा गर्न सकिन्छ।”

राष्ट्र ब्याङ्कले बुधवार मात्र एउटा एकीकृत निर्देशन जारी गर्दै त्यस्ता सहुलियतको घोषणा गरेको थियो। उक्त निर्देशन अनुसार केही क्षेत्रमा दिइएको र साना खाले कर्जालाई निश्चित सर्त पूरा गरेपछि आगामी असार मसान्तसम्ममा पुनर्तालिकीकरण गर्न सकिनेछ।

त्यस्ता पुनर्तालिकीकरण गर्न सकिने क्षेत्रमा होटेल तथा रेस्टुरेन्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा रहेका छन्। त्यस्तै पाँच करोडसम्मको कर्जा लिएकाहरूले पनि त्यस्तो सुविधा पाउनेछन्। बीबीसी

वि.सं.२०८० जेठ ५ शुक्रवार १५:५६ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...