
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको अदालतले आजदेखि बयान लिँदैछ । अभियुक्तहरूको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदैछ ।
प्रकरणमा विभिन्न ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पूर्वउप्रधानमन्त्री एवम् नेकपा (एमाले)का सचिव टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत विरुद्ध नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै ठगी गरेको आरोप छ ।
यस प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । उनीहरु सबैविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
न्यायाधीशको अगाडि बयान सकिएपछि मात्रै थुनछेकको बहस सुरु हुनेछ । तत्पश्चात अदालतले प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने आदेश गर्नेछ । यो प्रक्रिया सक्न कम्तीमा दुई साता लाग्न सक्ने बताइएको छ ।