
लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि एनआरएनए युकेले आर्थिक संकलन गरेको छ ।
संघले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भएपछि आर्थिक संकलन सुरु गरेको थियो ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको दिन गत १० मे बाटै अभियान शुरु गरेपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाबाट कुल ९ हजार १४२.३६ पाउन्ड (करिब १५ लाख रुपैयां) सहयोग भएको जानकारी दिइएको छ ।
एनआरएनए युकेका अनुसार सहयोग गर्नेहरुमा तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८. ९९, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, शिर्जनशील नेपाली समाज युके २२० पाउन्ड, छेत्री समाज यूकेले १०१, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड सहयोग रकम संकलन गरिएको हो ।
त्यस्तै पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको विशेष महाधिवेशनमा २६५ पाउन्ड सहयोग गरेको संघले जनाएको छ ।
संकलित रकम परिवारलाई बेलायतमै सहयोग हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सबै सहयोगदाताहरुमा आभार व्यक्त गरेका छन् ।
सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर, उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको हो ।
आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको बताइएको छ ।
तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणी तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ऋृण जोरजाम गरी खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।
वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन्