back
CTIZAN AD

गेरुवस्त्र लगाउँदै प्रचण्ड किन धार्मिक अभियानमा छन् ?

वि.सं.२०८० जेठ २८ आइतवार

1K 

shares

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको दर्शन गरेको सन्दर्भलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणीहरु भइरहेका छन् । मुख्यगरी प्रचण्डका हाल र पूर्वसहकर्मीहरुले बढी चासोपूर्वक तीर्थाटनलाई हेरेका छन् ।

कतिपयले प्रचण्डको तीर्थाटनलाई ‘राजनीति’ रुपमा पनि जोडेर टिप्पणी गरेका छन् । उनका पूर्वसहकर्मी एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई भारत सरकारले नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्सा, भारतमा भ्रमणका क्रममा प्रचण्डसहितको समूहले महाकालेश्वरमा गरेको पुजाआजा र पशुपतिनाथको दर्शनलाई जोडेर तीर्थाटन राजनीतिक देखिएको टिप्पणी गर्दछन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डको तीर्थाटनबारे भनेका छन्, “कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो ! तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा श्रृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !”

प्रचण्डले भारत भ्रमणका क्रममा महाकालेश्वरबाट ल्याएको जल पशुपतिमा चढाएका थिए । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार चारधाम गरेपछि त्यहाँबाट ल्याएको जल तथा प्रसाद पशुपतिनाथमा चढाउनुपर्ने मान्यताअनुसार प्रचण्डले पशुपतिको दर्शन गरेका हुन् ।

“चार धाम वा अन्य कुनै ठूलो तीर्थस्थलबाट आएपछि त्यहाँबाट ल्याएको जल तथा प्रसाद पशुपतिनाथमा ल्याएर चढाउनुपर्छ भन्ने मान्यता रहेको छ”, प्रचण्डको पशुपतिनाथ दर्शनबारे खतिवडाले भनेका छन्, “त्यही धार्मिक मान्यताअनुसार उहाँहरू महाकालेश्वर मन्दिरबाट ल्याएको जल तथा प्रसाद चढाउन आउनु भएको हो।”

प्रचण्डले पशुपतिनाथको दर्शनपछि आगन्तुक पुस्तिकामा “आफ्ने पहिल्यैदेखि नै मन्दिरको दर्शन गर्ने इच्छा रहेको” कुरा पनि लेखेका छन् । आधा घण्टा जति पशुपति मन्दिर परिसरमा रहेका प्रचण्डले मन्दिरको जीर्णोद्वारबारे पनि विकास कोषसँग जानकारी लिएका थिए ।

प्रचण्डको तीर्थाटनलाई धेरै कोणबाट टिप्पणी भइरहेको छ । प्रचण्डको महाकालेश्वर, पशुपतिनाथ र स्वर्गद्वारीको भ्रमणलाई सामान्य रुपमा बुझ्न नसकिने धेरैको टिप्पणी छ । राजनीतिक विश्लेषक मुमाराम खनाल हिन्दुवादीलाई खुसी पार्न प्रचण्ड तीर्थाटनमा लागेको बताउँछ ।

“प्रचण्ड राजनीति र धर्मको अन्तरसम्बन्धलाई बुझ्दै गइरहेको देखिन्छ, पशुपतिसम्मको यात्रालाई हेर्दा हिन्दुवादीलाई खुसी पार्न उनी उद्धत छन् भन्ने सहजै बुझिन्छ”, खनालले भनेका छन् ।

प्रचण्डको सत्ता केन्द्रीत शैलीलाई हेर्दा, तीर्थाटनलाई राजनीतिकरुपमा पनि जोड्न सकिने खनालको भनाई छ । “प्रचण्डको पार्टी निकै सानो छ, पार्टी सानै भएपनि सत्ताको नेतृत्वमा पुगेका छन्, उनी चरम सत्ताकेन्द्रीत पात्र हुन्, सत्ताका निम्ति जे पनि गर्न पछि नपर्ने उनको शैलीबाट नेपाली सजग रहनपर्ने देखिन्छ”, खनालले भनेका छन्, “धर्ममा राजनीति मिसाउने काम पापीहरुले गर्दै आएका छन्, त्यस्तो जोखिम सधैँ हुन्छ ।”

वि.सं.२०८० जेठ २८ आइतवार १८:२१ मा प्रकाशित

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...