काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रमशः एकपछि अर्को गर्दै द्वन्द्वकालिन मुद्दाले घेरिन थालेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालिन घटनालाई लिएर एकपछि अर्को गर्दै मुद्दाहरु पर्न थालेका छन् ।
प्रचण्डलक्षित विभिन्न मुद्दाहरु विचाराधिन अवस्थामै रहेका बखत शुक्रबार मात्रै पूर्वलडाकु लेनिन विष्टसहितले द्वन्द्वकालिन घटनालाई नै लिएर रिट दायर गरेका छन् । जुन रिटलाई प्राथमिकतामा राख्दै अदालतले सुनुवाई प्रक्रिया पनि अगाडि बढाएको छ ।
विष्टले दायर गरेको रिट अन्तराष्ट्रिय फौजदारी कानुनसमेत आकर्षित हुने खालको छ । जहाँ प्रचण्डमाथि युद्ध अपराधमा अनुसन्धान अघि बढाउनका लागि तत्काल प्रधानमन्त्री पदबाट निलम्बन गरिनपुर्ने माग गरिएको छ ।
विष्टले दायर गरेको रिट मंगलबार न्यायाधिश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
यसअघि द्वन्द्वकालिन घटनाबारे उनले बोलेको अभिव्यक्तिलाई लिएर पनि मुद्दा दायर भएको थियो । प्रचण्डले एक सार्वजनिक कार्यक्रममा द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर गत वर्षको फागुन २३ मा उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । २०७६ माघ १ मा बोलेको विषयलाई लिएर दायर रिट सर्वोच्चमा विचाराधिन अवस्थामै छ ।
वि.सं.२०८० जेठ ३० मंगलवार १५:०९ मा प्रकाशित






























