काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलन कुमार थापाले पशुपतिमा राखिएको सुनको जलहरिमा राखिएको सुन नपुगे आफु मृत्युदण्ड भोग्न तयार रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्व्य समितको बैठकमा थापाले पशुपतिमा सुनको जलहरि लगाउँदा सुन गायब भएको भन्ने आरोप आफुमाथि लागेको भन्दै सुन जोख्दा कम भए आफु मृत्युदण्ड भोग्न तयार रहेको बताएका छन् ।
‘सुनको जलहरि, के न्याय माग्न मैले पनि आत्महत्या गर्नुपर्ने हो ?,’ बैठकमै रुदै उनले भने,‘ म यो सुनको जलहरि समितिको संयोजक हो । नेपाल राष्ट्र बैंकसँगको सम्झौता अनुसार सुन ल्याएको छ १०३ केजी । राज्यको प्रमुखहरुले जे निर्देशन दिन्छन् त्यो गर्नु के हामीले गलत गर्यौ ?’
उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा शिवरात्रीभरीमा त्यो काम सक्काउनु भनेकाले आफुहरुले सोहि अनुसार काम गरेको बताए । थापाले सुनको जलहरी बनाउँदा नेपाली सेनाले २४ घण्टा ड्युटी गरेको बताए ।
‘सेनालाई विश्वास गर्ने कि नगर्ने, सुन हराएकोमा सेनाले जिम्मा लिनुपर्ने कि नपर्ने ? यो विषयमा प्रधानसेनापति सँग पनि कुरा गरेको थिए ।’ उनले भने ।
प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरि राख्न हुँदैन भनेर अदालतबाट स्टे अर्डर ल्याएको बताउँदै उनले भने–‘९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले माइन्युटमा नेलेखेको मात्र हो । १० केजी सुन शिवले पहिरिनु भएको छ । जोख्दा थाहा हुन्छ सुन हो कि पित्तल भन्ने । यदि पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु ।’
वि.सं.२०८० जेठ ३० मंगलवार १६:४० मा प्रकाशित






























