काठमाडौँ । नेपालको शसस्त्र प्रहरीलाई योग र ध्यान सिकाउन माओवादी नेताहरु रंगशालामा पुगेका छन् ।
सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सो पार्टीका केन्द्रीय सदस्य तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक कृष्णराज केसी हलचोकको रंगशाला पुगेका हुन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रङ्गशालामा आज आयोजित योग अभ्यासमा सरिक हुँदै उपप्रधानमन्न्त्री नारायणकाजी श्रेष्ठले स्वस्थ जीवनयापनमा योग, ध्यान र व्यायामले फाइदा पुग्ने बताएका छन् ।
योग र ध्यानबाट मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका श्रेष्ठले योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरूलाई ऊर्जा प्रदान गर्ने समेत बताए ।
नवौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आर्ट अफ लिभिङ सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक परिसरमा भएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमिक्त गृहसचिव महादेव पन्थ, आर्ट अफ लिभिङका महासचिव सन्दिप शाह, योग प्रशिक्षक योगिराम पाण्डे, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत सङ्घका पदाधिकारीहरू, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत एवम् बिल्लादार जवानहरू समेतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन योग प्रशिक्षक कृष्णराज केसीले गरेका थिए ।
आर्ट अफ लिभिङ्ग संसारका १८२ राष्ट्रमा फैलिएको छ । नेपालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भै आफ्ना गतिविधि गर्दै आएको छ । नेपालमा आज विभिन्न संघसंस्थाहरूले अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
वि.सं.२०८० असार ६ बुधवार २०:२१ मा प्रकाशित






























