काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन् । उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो बताएका हुन् ।
शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सालमा अदालत र कानुन नमान्ने बताएका छन् । अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन् ।
“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ”, बालेन सामाजिक सञ्जालमा भनेका छन्, “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।”
मेयर शाहले गत सोमबारदेखि विवादित हिन्दी फिल्म ‘आदिपुरुष’लाई नगर प्रहरी खटाएरै काठमाडौं प्रदर्शन रोकेका थिए । उनले आदिपुरुष रोकेसँगै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा गरेका थिए । शाहले प्रदर्शन रोकिदिएपछि हलवालहरुको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गर्दै मेयर सिनेमा सञ्चालनमा अवरोध नगर्ने भनेको छ । अदालतले दुवै पक्षलाई छलफल गर्न असार १२ गते बोलाएको छ।
वि.सं.२०८० असार ७ बिहीवार १५:१९ मा प्रकाशित






























