काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनलाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने सो पार्टीले जनाएको छ ।
यसैगरी आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलि आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ । सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोहजस्ता राजनीतिक सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत आजको बैठकले अनुमोदन गरेको जनाइएको छ । आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदे
श समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ । रासस
वि.सं.२०८० असार ९ शनिवार २०:४२ मा प्रकाशित






























