काठमाडौं । सत्तामा सहकार्य गरिरहेकै बखत प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा गठन गराए । सत्ता साझेदार तीन दल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई मिलाएर मोर्चा गठन गरिएपछि कांग्रेसभित्र निकै ठूलो तरंग उत्पन्न भयो । कांग्रेसका कतिपय नेताहरुले प्रचण्डको यो कदमलाई लिएर सार्वजनिकरुपमै असन्तुष्टि पोखे ।
समाजवादी मोर्चा गठनपछि प्रचण्डले ‘वाम एकता’को विषय बाहिर ल्याएका छन् । प्रचण्डले तत्कालिन नेकपा ब्युँताउने कुरा पनि गरिरहेका छन् । आइतबार एक सार्वजनिक कार्यक्रमकै बीच प्रचण्डले एमालेलाई समेत मिलाएर फेरि नेकपा ब्यूँताउने कुरा समेत गरेका थिए ।
प्रचण्डले भनेका छन्, “अहिले कमरेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ, माधवजीले पनि र मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ ।”
प्रचण्डले योबीचमा पूर्वमाओवादीहरुबीच पनि एकता गर्ने गरी छलफल चलाइरहेका छन् । माओवादीभित्रबाट उपाध्यक्ष कृष्णबहादुर महराले विशेषतः माओवादी कित्ताका नेताहरुबीच एकता गर्नेगरी छलफल गरिरहेका छन् ।
तर, बाहिर वाम एकतालाई जोड दिएको देखिएपनि फेरि सत्ता साझेदार नेपाली कांग्रेसलाई पनि मिलाउनुपर्ने सकसमा प्रचण्ड छन् । वामपन्थी एकताको विषय उठान भएपछि झस्किएको कांग्रेसलाई उनले “लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन” भन्दै फकाउन पुगे ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरिजाको मात्रै गुनगान गाएनन् कांग्रेससँग व्यवस्था जोगाउन सहकार्य भइरहने भन्दै आश्वस्त पनि पारे ।
“कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ, त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ”, उनले भनेका छन्, “मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।”
पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिले पनि कांग्रेसभित्र ठूलो असन्तुष्टि पैदा भएको छ । कांग्रेस र एमाले मिलेर सत्ता सहकार्यको प्रयास गरिरहेको चर्चाका बीच अध्यक्ष नेपालले कांग्रेसलाई “दलाल र राष्ट्रघाती पार्टी” भन्दै आलोचना गरेका थिए । उनको आलोचनाप्रति कांग्रेसका कतिपयले सार्वजनिकरुपमै तिव्र असन्तुष्टि जनाएका थिए । जसलाई मिलाउनुपर्ने सकसमा प्रचण्ड परेका छन् ।
वि.सं.२०८० असार १८ सोमवार १२:२३ मा प्रकाशित























