back
CTIZAN AD

मलेशिया र कतार बसेर फर्केका राजकुमार पशुपालनबाट मनग्य आम्दानी गर्दै

वि.सं.२०८० असार २४ आइतवार

1.2K 

shares

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उहाँ कृषि पेसामा आकर्षित भएका हुन् । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउछन् । “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने ।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गर्नुभयो । र, उनी मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुग्नुभएका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउछन् । “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा रु पाँच लाख लिएर फर्किएको बताउछन् ।

रु ७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउछन् । दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिएको बताउँछन् । “मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउछन् । “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक रु डेढ लाख बच्छ । “महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उहाँ दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउछन् ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो ।

सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास गर्न नहुने बताउछन् । उनी सफलता मानिसको पछि– पछि आउने गरेको बताउछन् । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले बताए ।रासस

 

वि.सं.२०८० असार २४ आइतवार ०८:२७ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...