back
CTIZAN AD

देउवालाई धक्का दिने गगन प्रयास, होला त सफल ?

वि.सं.२०८० असार ३१ आइतवार

786 

shares

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको अभियानमा गगन थापा निरन्तर लागि परेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न थापाले निकै प्रयत्न गरेका थिए । थापाले पार्टी सभापतिमा डा. शेखर कोइरालालाई अघि सार्दै आफू महामन्त्रीमा उठेका थिए ।

तर, कोइरालालाई सभापति बनाउने थापाको योजना सफल भएन । सभापतिमा थप मतान्तरसहित देउवा नै विजयी भए । महाधिवेशनमा देउवाले २७२४ मत ल्याउँदा प्रतिद्वन्द्वीका रुपमा उभिएका कोइरालाले जम्मा १८१७ मत प्राप्त गरेका थिए ।

महाधिवेशनबाट पार्टी सभापतिमा देउवा नै विजयी भएपनि थापा नेतृत्व परिवर्तनको खेलमा भने निरन्तर छन् । देखिने गरी थापाले कांग्रेस संसदीय दलको निर्वाचनमार्फत देउवालाई धक्का दिने प्रयास गरेका थिए । तर, थापाको दोस्रो प्रयास पनि सफल भने भएन ।

महाधिवेशनमा सभापतिमा अघि सारिएका पात्र कोइरालालाई पछि राख्दै स्वयम् अगाडि आएका थापा नराम्रोसँग पराजित भए । महाधिवेशनमा कोइराला–थापा समूहमा खुलेका सांसदले नै थापाको पक्षमा मत दिएनन् ।

८९ सांसदमध्ये देउवाको पक्षमा ६४ ले मत दिँदा थापाको पक्षमा जम्मा २५ जनाले मत दिए । संसदीय दलको निर्वाचनमा कोइराला–थापा समूह नै विभाजित भएको स्पष्ट देखियो ।

महाधिवेशन र संसदीय दलको निर्वाचनमा हार व्यहोरेपनि थापा भने नेतृत्व परिवर्तनको खेलमा निरन्तर छन् । योबीचमा थापाले जिल्ला सभापतिहरुको भेला र केन्द्रीय समिति बैठकमार्फत देउवालाई धक्का दिने प्रर्यत्न गरेका छन् ।

सभापतिहरुको भेलालाई थापाले आफ्नो पक्षमा पारेको देखियो । पार्टीलाई विधानअनुसार चलाउनुपर्नेदेखि विभिन्न १४ बुँदे प्रतिबद्धतापत्र भेलामार्फत गराएका छन् । जुन देउवालाई थप दबाबमा राख्ने अर्को कदम पनि हो ।

कांग्रेसमा एक वर्षदेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । बैठक नबसेको कारण थुप्रै सांगठनिक कार्यक्रमहरु रोकिएका छन् भने पार्टी गतिविधिहरु पनि प्रभावित छन् । यस्तोमा देउवाले मनमौजी ढंगले निर्णयहरु लिइरहेका छन् ।

पार्टी महामन्त्री थापा केन्द्रीय समितिमार्फत देउवालाई अंकुश लगाउने प्रर्यत्नमा मात्रै छैनन् नीति महाधिवेशन बोलाउँदै देउवाकै विकल्प खोज्नेसम्मको नीतिगत संरचना बनाउने अभियानमा देखिन्छन् । पार्टी सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा थापाले स्पष्टरुपमा भनेका छन्, “नेतृत्व परिवर्तनमा निरन्तर लागिरहेको छु, अहिले पनि संख्या पुग्यो भने त्यसका निम्ति अगाडि बढ्छु, साथीहरुले साथ दिए तत्कालै संसदीय दलको नेता परिवर्तन गर्न लाग्छु तर, मेरो मात्रै चाहनाले हुने कुरा होइन । साथीहरुको साथ भए सम्भव छ ।”

वि.सं.२०८० असार ३१ आइतवार १२:०१ मा प्रकाशित