मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कारपियोमा सवार सबै ६ जना घाइते भएका थिए। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई बिहान ९ बजे थप उपचारका लागि हेटौंडा पठाइएको थियो भने अन्य चार जनालाई नेपाली सेनाको हेडक्वार्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको थियो।
छाउनी अस्पतालमा उपचाररत रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०:२९ बजे उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी मध्यम अवस्थामा हेटौंडा अस्पतालमा उपचाररत छन्। मुख्य न्यायाधीश दाङ, तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय गोकर्ण डाँगी पनि मध्यम अवस्थामा छाउनी अस्पतालमा उपचाररत छन्।
त्यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका ५१ वर्षीय रजिष्ट्रार तारादत्त बडु मध्यम अवस्थामा हेटौंडा अस्पतालमा उपचाररत छन्। उनका २५ वर्षीय छोरा रितेन्द्र बडु पनि मध्यम अवस्थामा छन् भने ३१ वर्षीया छोरी रिता बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको भए पनि सडकमा यातायात भने सुचारु रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वि.सं.२०८३ भदौ २ मंगलवार १५:११ मा प्रकाशित






























