लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा पुनः प्रेम गाहामगर निर्वाचित भएका छन् ।
संघको ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
जुलाई २२ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा अध्यक्ष गाहामगरसहित ५४ निर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेका हुन् ।
निर्वाचन प्रमुख आयुक्त विश्वासदीप तिगेलाले नयां कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । निर्वाचन समितिमा सदस्य सचिव रुद्र थापामगर र टेकबहादुर थापा थिए ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री र निर्वाचन समिति पदाधिकारीले निर्वाचित कार्यसमितिलाई फेटा, खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।
२० हजार ७०७ सदस्य बनाउन सफल नवनिर्वाचित अध्यक्ष अध्यक्ष गाहामगरले खचाखच भरिएको हलमा सम्बोधन गर्दै विषम परिस्थितिबीच पनि आफ्नो कार्यसमितिले ४७ वटा प्रमुख काम गरेको विवरण प्रस्तुत गरे ।
उनले अबको कार्यकालमा एकमात्र एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई तार्किक निष्कर्षमा पुरयाउने प्रतिवद्धता व्यक्त गरे । यस अभियानमा आफ्नो टिमलाई विगत जस्तै सहयोग गर्न पनि उनले आग्रह गरेका थिए ।
उनले आउंदो २६ जुलाईमा नेपाल गएर वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दामा शीर्ष राजनीतिक नेतृत्वलाई भेटघाट गर्ने बताएका छन् ।
उनले आफूप्रति विश्वास गरेर सदस्यता लिएका सबै पञ्जीकृत सदस्यहरु, अग्रज अभियन्ता, सल्लाहकारहरु, सहयोगी तथा शुभचिन्तक सबैप्रति आभार समेत व्यक्त गरे ।

यस्तो छ नयाँ कार्यसमिति
गाहामगरको नेतृत्वमा बनेको कार्यसमिति उपाध्यक्षहरुमा भरतमणी चोङवाङ लिम्बु, तीर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर (गोर्खा), नम्रता घले गुरुङ (महिला) र अमृत घले, महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङ राना निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा रविन गुरुङ, सह–कोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राई निर्वाचित भए ।
त्यसैगरि, सदस्यहरुमा धनबहादुर तामाङ पाख्रिन, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, वृहस्पति बराल मगर, नवीन पौडेल, एण्डरसन (एन्डी) राई, खगेन्द्र थापा मगर, तीर्थकुमार थापा (ब्रुस), मेक्सी गुरुङ, असल लिम्बु, नवराज घले (नबु) र दिलिप गलामी निर्वाचित भएका छन् ।
त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा, ओम थापा काउचा, फुलप्रसाद कंडेल, भक्त दर्जी, प्रवेश केसी र लिला सेलिङ माबो निर्वाचित भए ।
वेल्सको अध्यक्षमा पुन
राज्य परिषद अन्तर्गत वेल्सको अध्यक्षमा मोती प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रम सारु, सहसचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुन निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र यङ्देन लिम्बु, सीता गुरुङ राई, युवराज पुन, सुवास राई, कल्पना कङदङ्वा लिम्बु र भोजनारायण रेग्मी छन् ।
इङल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद पछि घोषणा गरिने बताइएको छ ।
सचिव प्रमिला लाबुङको सञ्चालन रहेको उक्त पहिलो सत्रमा प्रमुख अतिथी एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, विशेष अतिथी किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्राध्यापक प्रेम येक्तेन लिम्बु, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले उद्घाटन गरेका थिए ।
सम्बोधनका क्रममा क्षेत्रीले प्रधानमन्त्रीको रोहवरमा हालै भएको सम्झौताको मर्म अनुरुप एकताको अधिवेशन हुनुपर्नेमा त्यसो नगरिएको आरोप लगाए । ’मेलमिलाप भए संघभित्रको घोटाला बाहिर आउंछ भनेर पनि एक समूह सधैं विभाजन चाहिरहेको छ’, क्षेत्रीले भने, ’वंशजको नागरिकताबाट वञ्चित गर्न खोजिएको छ । हामीमा एकता आवश्यक छ, सत्यको जीत अवश्य हुनेछ ।’

विशेष अतिथी किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्राध्यापक प्रेम येक्तेन लिम्बुले नयां निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै गाहामगर नेतृत्वले साझा एकताका लागि पहल गरोस् भन्ने शुभकामना दिए ।
उनले एनआरएनए यूकेले बेलायत र नेपालमा रहेका नेपालीहरुबीच पुलको काम गरेको पनि बताए । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिमा समेत क्रियाशील येक्तेनले प्रदेश १ को नामाकरण कोशी प्रदेश गरेर असंसदीय, अलोकतान्त्रिक, एकल जातीय र गोत्रीय हिसावले राखिएको दावी गर्दै त्यसविरुद्ध आन्दोलन जारी रहेको उल्लेख गरे ।
कार्यक्रमका विशेष अतिथी नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले निर्वाचित अध्यक्ष प्रेम गाहा भएकाले उनको अधिवेशन नै आधिकारिक भएको र यसमा द्धिविधा हुनु नपर्ने प्रष्ट पारे । ’हामी विधि विधान र पद्धति अनुसार चल्नुपर्छ । प्रेम गाहालाई पदच्यूत गर्ने जुन कदम चालियो त्यो खेदजनक छ’, उनले भने । सभापति गुरुङले राजनीतिक अधिकारसहितको वंशजको नागरिकताका लागि आन्दोलन जारी राख्न पनि सुझाए ।
एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले सहमति अनुसार प्रेम गाहामगरको अध्यक्षतामा एकीकृत अधिवेशन गर्नु पर्नेमा त्यसो नगरिएकोप्रति दुःख व्यक्त गरे ।
समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले वंशजको नेपाली नागरिकता निरन्तरता अभियान नछाड्न सुझाव दिंदै यसको नेतृत्व प्रेम गाहामगरले गर्न सक्ने विश्वास आफूमा रहेको बताए ।
कार्यक्रममा खगेन्द्र पाठक, राष्ट्र राई, ओम थापा काउचा, डेभिड गुरुङ, प्रवेश केसी, सूर्य नेम्वाङ, दलबहादुर थापा, रत्न राई लगायतले शुभकामना तथा बधाई दिएका थिए ।
कार्यक्रममा प्रवक्ता भरतमणी चोङवाङ लिम्बुले स्वागत मन्तव्य दिएका थिए । ’मगर गट ट्यालेन्ट २०२२’ स्वेच्छा पुनले स्वागत नृत्यसहित अन्य आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक गायिका मनसुदन थापा र पूर्णकला बिसीले गायनमार्फत मनोरन्जन दिलाए ।
वि.सं.२०८० साउन ८ सोमवार १३:४३ मा प्रकाशित


























